काठमाडौँ– नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले संसदीय दलका नेता तथा कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ को विवादित अभिव्यक्तिप्रति टिप्पणी गर्दै दोष जति अरूलाई देखाउने राजनीति पुरानो भइसकेको बताएका छन्।
हिजो (बिहीबार) उनले सामाजिक संञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै पछिल्लो राजनीतिक वातावरण सिर्जना हुनुमा एमाले पनि दोषी रहेको र एमाले नेतृत्वको तत्कालीन सरकारको अकर्मण्यता जिम्मेवार रहेको टिप्पणी गरेका छन्।
उनले लेखेका छन्, ‘हिजो संसदमा “षड्यन्त्र”का लामा कथाहरू सुनियो। सेनाले जोगाएन, कर्मचारीले टेरेनन्, प्रविधिले हरायो(सबै दोष अरूलाई हामी पनि दोषी छौँ। यो वातावरण सिर्जना गर्न हाम्रै सरकारको अकर्मण्यता जिम्मेवार होइन र ? अब यो ‘घेराबन्दी’मा पर्यौँ भन्ने “राष्ट्रवादी” राजनीति निकै पुरानो भयो। अबको एउटा मात्र साँचो राष्ट्रवादी लाइन भनेको नेपालको आर्थिक सुधार हो, बाँकी सबै आ–आफ्ना एजेन्डा मात्र हुन्।’
उनी थप भन्छन्– ‘आफ्नो कमजोरी लुकाएर कार्यकर्तालाई भ्रममा राखी अतिवादतिर धकेल्ने काम नगरौँ। २३–२४ छानबिन हुनुपर्छ–तर हाम्रो राजनीति जनताको आकांक्षासँग मेल नखाएको यथार्थलाई बेवास्ता गर्नु हुँदैन।’
एमालेको कार्यवाहक अध्यक्ष समेत रहेका बादलले भदौ २३ र २४ गतेको जेन जेन जेड आन्दोलन तथा फागुन २१ को चुनावको सन्दर्भमा सम्पूर्ण परिणाम षड्यन्त्र र यी निकायहरूको मिलेमतोमा आएको खालको अभिव्यक्ति दिएका थिए। साथै एमालेले लिँदै आएका शासकीय अडानहरूको विपरीत हुनेगरी नेपाली सेना, कर्मचारीदेखि विदेशी निकायहरूलाई समेत आरोपित गरेका थिए।
बादलको विवादित अभिव्यक्तिले एमालेमा तरंग छ । थापाको सम्बोधन विवादमा परेपछि यसबारे छलफल गर्न आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ।
![]()