काठमाडौं– व्यापार घाटा ११ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्ष २०८२– ८३ को पहिलो आठ महिनामा नेपालको वैदेशिक व्यापार घाटा ११.२ प्रतिशतले वृद्धि भई १० खर्ब ९८ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको फागुन मसान्तसम्मको तथ्याङ्क अनुसार अघिल्लो वर्षको सोही अवधिमा ६.२ प्रतिशतले बढेको व्यापार घाटा यस वर्ष झन् तीव्र बनेको हो।
समीक्षा अवधिमा निर्यात र आयात दुवै बढे पनि आयातको आकार ठूलो हुँदा व्यापार असन्तुलन चुलिएको देखिएको छ। चालु आर्थिक वर्षको आठ महिनामा कुल वस्तु निर्यात २०.८ प्रतिशतले वृद्धि भई १ खर्ब ९१ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो निर्यात ५७.२ प्रतिशतको उच्च दरले बढेको थियो।
गन्तव्यका आधारमा भारततर्फको निर्यात २५.३ प्रतिशत र अन्य मुलुकतर्फ ७.८ प्रतिशतले बढेको छ भने छिमेकी मुलुक चीनतर्फको निर्यातमा ५३.७ प्रतिशतको ठूलो गिरावट आएको छ। वस्तुगत आधारमा भटमासको तेल, अलैंची, पाम तेल र चाउचाउ लगायतका वस्तुको निर्यात बढेको छ भने चिया, ऊनी गलैंचा र हस्तकलाका सामानको निर्यात घटेको छ।
यता वस्तु आयाततर्फ भने १२.५ प्रतिशतले वृद्धि भई १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँ पुगेको छ। वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट ५.१ प्रतिशत, चीनबाट २१.२ प्रतिशत र अन्य मुलुकबाट २६ प्रतिशतले आयात बढेको छ। विशेष गरी भटमासको कच्चा तेल, रासायनिक मल, चाँदी, यातायातका उपकरण र दूरसञ्चारका सामग्रीको आयात बढेको तथ्याङ्कले देखाएको छ। खाने तेल, लसुन र दाल जस्ता वस्तुको आयातमा भने केही कमी आएको छ।
व्यापारको समग्र अवस्था हेर्दा निर्यात(आयात अनुपातमा सामान्य सुधार देखिएको छ। अघिल्लो वर्ष १३.८ प्रतिशत रहेको यस्तो अनुपात यस वर्ष १४.८ प्रतिशत पुगेको छ। यसैगरी भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी १ खर्ब २० अर्ब ४१ करोड बराबरको वस्तु आयात भएको छ, जुन अघिल्लो वर्ष १ खर्ब १९ अर्ब ४९ करोड बराबरको थियो।