काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापाका अग्नि पाण्डेसँग भेट गरेका छन्। कम्बोडियाको ग्रान्ड डायमन्डसिटी क्यासिनोमा भएको आगलागीमा परी गत बिहीबार राति पाण्डेका छोरा निराकारको निधन भएको थियो।
प्रधानमन्त्री प्रचण्डले बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाई अग्निसँग भेट गरेका हुन्। प्रधानमन्त्रीसँगको भेटमा अग्निले छोराको अप्रत्यासित निधनले आफूहरू स्तब्ध भएको जनाउँदै सरकारले देखाएको चासो एवं जिम्मेवारीबोधप्रति धन्यवाद व्यक्त गरे।
प्रधानमन्त्री प्रचण्डले निराकारको निधनप्रति दुःख व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्। प्रधानमन्त्रीले निराकारको शव स्वदेश ल्याउन र परिवारलाई सरकारको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै धैर्यधारण गर्न आग्रह गरेका प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।
सो अवसरमा उपप्रधानमन्त्रीत्रय विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने र सरकारका मुख्यसचिव शंकरदास बैरागीलगायतको उपस्थिति थियो। प्रधानमन्त्री प्रचण्डले यसअघि नै मुख्यसचिवमार्फत निराकारको शव स्वदेश ल्याउने प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकेका छन्।