राजस्व चुवावट रोक्न शून्य सहनशीलताको नीति अपनाउन सरकारको निर्देशन - Chaitanya News
  • 2026-04-21
  • 00:01:04
  • सोमबार,बैशाख ०७, २०८३
  • राजस्व चुवावट रोक्न शून्य सहनशीलताको नीति अपनाउन सरकारको निर्देशन

    राजस्व चुवावट रोक्न शून्य सहनशीलताको नीति अपनाउन सरकारको निर्देशन

    काठमाडौं– सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने भएको छ।

    आज (बिहीबार) अर्थ मन्त्रालयमा बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले राजस्व चुहावट रोक्नका लागि अभियानको रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो।

    बैठकमा राजस्व चुहावटका रोक्नका लागि विभिन्न विभागहरूले गरिरहेका कामका बारेमा सम्बन्धित निकायका प्रमुखहरूले जानकारी गराएका थिए।

    बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र गृहमन्त्री सुधन गुरुङले राजस्व चुहावटलाई रोक्न शून्य सहनशीलताको नीति अपनाउन निर्देशन दिएका थिए।

    त्यस्तै मन्त्रीद्वयले सीमामा सूक्ष्म निगरानी राख्न र बजार अनुगमनका केन्द्रीत हुन समेत निर्देशन दिनुभएको अर्थमन्त्रालयका सहसचिव एवं प्रवक्ता टंक प्रसाद पाण्डेयले जानकारी दिए।

    ‘माननीय गृहमन्त्री र अर्थमन्त्रीज्यूले स्पष्ट निर्देशन दिनुभएको छ, जिरो टोलरेन्समा काम गर्ने भनेर। बोर्डरहरूलाई सुक्ष्म निगरानीमा राख्ने, बोर्डर भित्र र बाहिर जहाँसुकैबाट हुने राजस्व चुवावटलाई नियन्त्रण गर्न प्रभावकारी बनाएर जाने भन्नुभएको छ,’ पाण्डेयले भने।

    राजस्वको लक्ष्यमा पुग्नका लागि टास्क फोर्स गठन गरेर कार्ययोजनाका साथ नजिता देखिने गरि काम गर्ने र अर्को बैठकमा समिक्षा गर्ने गरि बैठक सकिएको प्रवक्ता पाण्डेयले बताए।

    बैठकले गरेका निर्णयहरू कार्यान्वयनका लािग सम्बन्धित निकायमा पठाउने पनि उनले बताए।

    बैठकमा अर्थमन्त्री, गृहमन्त्री, विभागीय प्रमुखका साथै तीनवटै सुरक्षा निकायका प्रमुखहरूको समेत उपस्थीति रहेको थियो।