६ दलका यी शीर्ष नेताले गर्दैछन् प्रतिनिधिसभा बैठकमा सम्बोधन - Chaitanya News
  • 2026-04-21
  • 00:05:04
  • सोमबार,बैशाख ०७, २०८३
  • ६ दलका यी शीर्ष नेताले गर्दैछन् प्रतिनिधिसभा बैठकमा सम्बोधन

    ६ दलका यी शीर्ष नेताले गर्दैछन् प्रतिनिधिसभा बैठकमा सम्बोधन

    काठमाडौँ– फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाबाट बनेको प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ। दिउँसो २ बजे सिंहदरबारको पुतली बगैँचामा रहेको निर्माणाधीन नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा बस्ने बैठकमा राष्ट्रिय पार्टीका शीर्ष नेताले सम्बोधन गर्ने सहमति दलहरूबिच बनेको छ।

    सङ्घीय संसद् सचिवालयले दिएको जानकारी अनुसार बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने र नेपाली कांग्रेसबाट भीष्मराज आङ्देम्बेले सम्बोधन गर्नेछन्।

    लामिछाने पार्टी सभापति हुन्। कांग्रेसका सभापति गगन थापासहितका शीर्ष नेता प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका र दलको नेता नचुनिएकाले आङदेम्बेले सम्बोधन गर्ने तय भएको कांग्रेस नेताहरू बताउँछन्।

    दिउँसो २ बजेका लागि आह्वान गरिएको बैठकमा नेकपा एमालेका तर्फबाट संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ सम्बोधन गर्ने तय भएको सचिवालयले जनाएको छ।

    श्रम संस्कृति पार्टीका तर्फबाट अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सम्बोधन गर्ने कार्यक्रम तय भएको सचिवालयले जानकारी दिएको छ।