काठमाडौँ– महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीले एसईई मेहनत, धैर्यता र आत्मविश्वासको परीक्षा भएको बताएकी छन्।
एसईई परीक्षा दिइरहेका विद्यार्थीलाई शुभकामना दिँदै उनले आफ्नो क्षमतामा विश्वास राख्न सुझाव दिएकी छन्। उनले फेसबुकमार्फत भनेकी छन्, ‘परीक्षा केवल ज्ञानको मात्र नभई तपाईंको मेहनत, धैर्यता र आत्मविश्वासको पनि परीक्षा हो। त्यसैले आत्मविश्वासका साथ शान्त मनले प्रश्नहरू पढ्नुहोस् र आफूले सिकेको कुरा स्पष्ट रूपमा प्रस्तुत गर्नुहोस्।’
परीक्षा विद्यालय जीवनमा सिकेका ज्ञानहरूको कागजी मूल्यांकन मात्र भएको बताउँदै उनले थप लेखेकी छन्, ‘ जीवन यात्राको एउटा सानो चरण हो। यो नै अन्तिम परीक्षा होइन, किनकि तपाईँका सपना यसभन्दा धेरै ठूला छन्। तपाईँहरूको परिश्रम सफल होस्, र हरेक उत्तरमा आत्मविश्वास झल्कियोस् भन्ने कामना गर्दछु।’