सांसदहरुलाई जेठ १० गतेभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन - Chaitanya News
  • 2026-04-21
  • 18:07:49
  • मंगलबार,बैशाख ०८, २०८३
  • सांसदहरुलाई जेठ १० गतेभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन

    सांसदहरुलाई जेठ १० गतेभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन

    काठमाडौँ– गत फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसदलाई सङ्घीय संसद् सचिवालयले जेठ १० गतेभित्र आफ्नो सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ। सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार सांसद सुविधा व्यवस्थापन शाखामा आगामी जेठ १० गते कार्यालय समयभित्र सम्पत्ति विवरण दर्ता गराउन निर्देशन दिइएको छ।

    भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ क को उपदफा (१) बमोजिम सार्वजनिक पद धारण गरेको व्यक्तिले जिम्मेवारी सम्हालेको मितिले ६० दिनभित्र आफ्नो वा परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण तोकिएको निकायसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ।

    नवनिर्वाचित सांसदहरूले चैत १२ गते पद तथा गोपनीयताको शपथ लिएका थिए। त्यसको ६० दिन जेठ १० गते पुग्ने भएकाले त्यो समयभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिइएको प्रवक्ता गिरीले जानकारी दिए।