काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले भदौ २३ र २४ गतेको जेन जेड आन्दोलनमा शहीद भएका व्यक्तिका परिवारका सदस्यलाई रोजगारी उपलब्ध गराउने निर्णय गरेको छ। आज (आइतबार) एक सूचना जारी गर्दै प्राधिकरणले शहीद परिवारलाई सम्पर्कमा आउन अनुरोध गरेको छ।
जेन जेड प्रदर्शन र आन्दोलनका क्रममा घाइते भएका व्यक्तिलाई राहत तथा सहायता उपलब्ध गराउने कार्यविधि, २०८२ को बुँदा नं.११ अनुसार शहीद परिवारका सदस्यको रोजगारीको व्यवस्था गरिएको प्रकाशित सूचनामा भनिएको छ। यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको २०८२–०९–२० मितिको पत्रसहित प्राधिकरणमा पेश भएका निवेदन प्राप्त भएका छन्।
शहीदसँगको सम्बन्ध प्रमाणित गर्ने कागजात अपूर्ण वा नपठाएकाहरूले ३५ दिनभित्र काठमाडौँस्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कर्मचारी प्रशासन शाखामा सम्पर्क गरी प्रमाणित कागजात बुझाउनुपर्ने छ।
सूचनामा गोरखा, सुनसरी, सप्तरी, चितवन, कैलाली, झापा, बाजुरा, उदयपुर, काठमाडौँ लगायत विभिन्न जिल्लाबाट पेश भएका आवेदकहरूको नामावलीसमेत सार्वजनिक गरिएको छ।