जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पुग्यो - Chaitanya News
  • 2026-04-21
  • 21:56:59
  • मंगलबार,बैशाख ०८, २०८३
  • जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पुग्यो

    जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पुग्यो

    काठमाडौं– गत भदौ २३ र २४ गते भएको घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको छ।

    पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारले निर्णय गरेको थियो। त्यसपछि उक्त प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट गृहमन्त्रालयमा पुगेको थियो।

    गृहमन्त्रालयले उक्त प्रतिवेदन कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालयलाई दिएको थियो। प्रहरी प्रधान कार्यालयबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी हुँदै उक्त प्रतिवेदन कार्यान्वयनका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको छ।

    परिसर काठमाडौंका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईले प्रतिवेदन आइपुगेको बताए। ‘हामी कहाँ प्रतिवेदन आइपुगेको छ। अब कार्यान्वयनको चरणमा जान्छौं’, एसपी भट्टराईले भने।

    उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय भएसँगै शनिबार बिहानै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।

    अन्य सुरक्षा संयन्त्रको हकमा भने थप छानबिनपछि कारबाही गरिने बताइएको छ । जनेजी आन्दोलनमा भएको हत्याको घटनाका सम्बद्ध रहेको भन्दै कार्की आयोगले ज्यानसम्बन्धी कसुरमा कारबाही गर्न ओली–लेखकलाई सिफारिस गरेको थियो ।