ओली र लेखकलाई आज अदालतमा पेश गरिँदै - Chaitanya News
  • 2026-04-22
  • 02:08:18
  • मंगलबार,बैशाख ०८, २०८३
  • ओली र लेखकलाई आज अदालतमा पेश गरिँदै

    ओली र लेखकलाई आज अदालतमा पेश गरिँदै

    काठमाडौँ– गत भदौ २३ र २४ गते भएको जेनजेड आन्दोलन दमन गरेको आरोपमा हिजो (शनिबार) पक्राउ परेका एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा काँग्रेस नेता रमेश लेखकलाई आज काठमाडौँ जिल्ला अदालत पेश गर्ने भएको छ।

    भदौ २३ र २४ गतेको घटना छानबिनका लागि पक्राउ गरिएका पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज प्रहरीले अदालतमा पेस गर्ने भएको हो।

    शनिबार बिहानै निबासबाटै पक्राउ परेका दुवै नेतालाई अदालतबाट अनुमति लिएर म्याद थप्नु पर्ने भएकाले पेश गर्न लागिएको हो।

    गत भदौ २३–२४ गते जेनजेडको प्रदर्शन हिंसात्मक बन्दा तीन जना प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो।

    सो घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखकसहित जिम्मेवार पदमा रहेका व्यक्तिहरूलाई दोषी ठहर्‍याउँदै कारबाही सिफारिस गरेको थियो।

    आज ओली र लेखक दुवैलाई अदालत खुल्नासाथै उपस्थित गराउने तयारी छ।