काठमाडौँ– जेनजी प्रदर्शन हुँदा भदौ २३ र २४ मा तत्कालीन आईजीपी चन्द्रकुबेर खापुङ र उच्च सुरक्षा अधिकृतहरूको सम्पर्क विवरण जाँचबुझ आयोगले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ।
हिजो (बुधबार) बुधवार सञ्चारमाध्यममार्फत ‘लिक’ भएको प्रतिवेदन अनुसार खापुङले विश्व अधिकारीसँग सबैभन्दा धेरै फोन सम्पर्क गरेको भेटिएको छ। डीआईजी अधिकारी जेनजी प्रदर्शन हुँदा जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख थिए। उनीहरूको बिचमा दुई दिनमा ४२ पटक सम्पर्क भएको कल डिटेल्स रेकर्ड विश्लेषण आयोगले आफ्नो प्रतिवेदनमा समावेश गरेको छ।
कार्य विभागका तत्कालीन एआईजी सिद्धिविक्रम शाहसँग २८ पटक सम्पर्क गरेको भेटिएको छ। कार्य विभागका एआईजीले दैनिक घटना र हुलदङ्गा नियन्त्रणको नेतृत्व गर्छन्। भदौ २४ मा उपत्यका प्रहरी कार्यालयको कमान्ड समालेका तत्कालीन एआईजी दानबहादुर कार्कीसँग ४ पटक, तत्कालीन मुख्य सचिव एकनारायण अर्यालसँग ३ पटक र तत्कालीन गृहमन्त्री रमेश लेखकका स्वकीय सचिव जनक भट्टसँग भदौ २४ मा ३ पटक सम्पर्क गरेको विवरण आयोगले प्रतिवेदनमा उल्लेख गरेको छ।
भदौ २४ मा तत्कालीन सभामुख देवराज घिमिरेसँग १ पटक, उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीआईजी ओम रानासँग दुई दिनमा ११ पटक एक अर्काले दुवैको मोबाइल नम्बरमा सम्पर्क गरेको आयोगले उल्लेख गरेको छ।
पूर्वगृहमन्त्री रमेश लेखकसँग दुई दिनमा ८ पटक र सशस्त्रका आईजी राजु अर्यालसँग २ पटक सम्पर्क भएको भेटिएको छ। खापुङसँग तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पिए राजेश बज्राचार्यसँग एक पटक र तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीसँग ९ पटक एक अर्काले सम्पर्क गरेको भेटिएको छ। प्रधानसेनापति अशोक सिग्देलसँग भदौ २ मा दुई पटक सम्पर्क भएको देखिएको छ।