कैलालीमा करिब ९ लाख लागतमा ट्राफिक प्रहरी पोष्ट निर्माण, डीआईजी रानाद्वारा उद्घाटन - Chaitanya News
  • 2026-04-23
  • 09:13:46
  • बिहिबार,बैशाख १०, २०८३
  • कैलालीमा करिब ९ लाख लागतमा ट्राफिक प्रहरी पोष्ट निर्माण, डीआईजी रानाद्वारा उद्घाटन

    कैलालीमा करिब ९ लाख लागतमा ट्राफिक प्रहरी पोष्ट निर्माण, डीआईजी रानाद्वारा उद्घाटन

    काठमाडौं– कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नं.८ स्याउलेमा नवनिर्मित अस्थायी ट्राफिक प्रहरी पोष्ट भवन आज एक भव्य कार्यक्रमबीच उद्घाटन गरिएको छ। स्थानीय समुदायको सक्रिय सहभागिता तथा विभिन्न संघ–संस्थाको सहयोगमा निर्माण गरिएको उक्त भवन सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख ओम बहादुर रानाद्वारा उद्घाटन गरिएको हो।

    प्रहरी प्रशासन र स्थानीय नागरिकबीचको सहकार्यको उत्कृष्ट उदाहरणको रूपमा रहेको यो ट्राफिक पोष्ट भवनले स्थानीय क्षेत्रमा सवारी व्यवस्थापन तथा सडक सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    सूर्योदय सामुदायिक वनले उपलब्ध गराएको जग्गामा निर्माण गरिएको २ कोठे एकतले पक्की भवनको कुल लागत रु। ८,८१,००० (आठ लाख एकासी हजार) रहेको छ।

    आज बिहान १० बजे आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि डीआईजी ओम बहादुर रानाले रिबन काटेर भवन उद्घाटन गर्नुभएको थियो। कार्यक्रम गोदावरी नगरपालिका वडा नं। ८ का वडा अध्यक्ष गोविन्द चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो।

    कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका एसएसपी पदम बहादुर बिष्ट तथा जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी प्रेम बहादुर शाहीविशेष अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डीआईजी रानाले स्थानीय जनताको लगानी र श्रमबाट निर्माण भएको यस भवनले प्रहरीको कार्यसम्पादनमा थप ऊर्जा दिने बताए। उनले भने,शान्ति सुरक्षा प्रहरीको मात्र प्रयासले सम्भव हुँदैन। स्याउलेका नागरिकले देखाएको सहकार्यले प्रहरी–जनता सम्बन्धलाई अझ सुदृढ बनाएको छ।

    त्यस्तै, कार्यक्रमका सभापति वडा अध्यक्ष गोविन्द चौधरीले बढ्दो सवारी चाप र सडक दुर्घटना न्यूनीकरणका लागि व्यवस्थित ट्राफिक पोष्टको आवश्यकता रहेको र अब त्यो आवश्यकता पूरा भएकोमा खुशी व्यक्त गरे।

    उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मी तथा ठूलो संख्यामा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सरकारी निकायका भवनहरू जनसहभागिताबाट निर्माण हुनु विकासको नयाँ सन्देश भएको सहभागीहरूले धारणा व्यक्त गरेका थिए।
    उक्त अवसरमा भवन निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने दाताहरू तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन पनि गरिएको थियो।