केही दिन ठूलो पानी पार्ने सम्भावना छैन : मौसमविद - Chaitanya News
  • 2026-04-23
  • 11:50:20
  • बिहिबार,बैशाख १०, २०८३
  • केही दिन ठूलो पानी पार्ने सम्भावना छैन : मौसमविद

    केही दिन ठूलो पानी पार्ने सम्भावना छैन : मौसमविद

    काठमाडौं– गत शुक्रबारदेखि सक्रिय वर्षा गराउने प्रणाली आज आइतबार)बाट कमजोर भएको छ। यससँगै आजदेखि मौसममा उल्लेख्य सुधार आउने र घाम लाग्ने मौसमविदले बताएका छन्।

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण सुदूरपश्चिमबाट सुरु भएको वर्षा गराउने प्रणाली क्रमशः पूर्वतिर सर्दै कोशी प्रदेशबाट बाहिरिएको छ। केही स्थानमा भने हल्का बादल देखिएको छ। तर अघिल्ला दिनको जस्तो केही दिन ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन्।

    जल तथा मौसम विज्ञान विभागका मौसमविदहरुका अनुसार शनिबार रातिदेखि नै मौसममा सुधार देखिएको छ । विभागले आज बिहान ६ः२० बजे सार्वजनिक गरेको एक सूचना अनुसार हाल लुम्बिनी प्रदेश लगायत देशका पहाडी र हिमाली भू–भागमा आंशिक बादल लागेको छ तर बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा छ।

    मौसमविद उज्जल उपाध्यायका अनुसार शनिबारदेखि बादल हटेर घाम लाग्ने छ । वर्षाका कारण प्रदूषण पनि घटेको छ। त्यसैले उनले शनिबार साँझ फेसबुकमा लेखेका छन्, ‘भोलि ढुक्कले लुगा धुनुस् मज्जाले सुक्छ । हिमालको मनमोहक दृष्य हेर्नुस् । स्वच्छ हावामा सास फेर्नुस्। आउने अझै केही दिन यस्तै मज्जा लिनुस्।’

    मौसमविदहरुका अनुुसार अहिले प्रि–मनसुनको समय छ। त्यसैले प्रिमनसुन अवधिमा दिनभर घाम लागे पनि साँझपख बादल लाग्ने, मेघगर्जन चट्याङसहित हल्का पानी पर्ने र कहिलेकाहीँ हुरी चल्ने गर्दछ। त्यसैले चट्याङ र हुरीबतासबाट जोगिन मौसमविदहरु सुझाव दिन्छन् ।