काठकाडौं– नेपाल पिछडावर्ग महासंघ (ओबिसी)ले अध्यक्ष गजेन्द्र ठाकुरलाई निलम्बन गरेको छ। अध्यक्ष ठाकुरले महासंघको निर्णय विपरीत मंसिर ४ गते सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा रौतहट क्षेत्र नं.१ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएकोले उनलाई निलम्बन गरिएको हो।
महासंघका महासचिव बबिता देवी, सचिव महेन्द्र महतो र केन्द्रीय प्रवक्ता शशी कुमार महतोलगायतकाले बुधबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरि अध्यक्ष ठाकुरलाई बहुमत सदस्यको बैठकबाट निलम्बन गरिएको जानकारी दिएका छन्।
प्रदेशसभा सदस्य पदको निर्वाचनअन्तर्गत चुनावी गतिविधिहरुमा अध्यक्ष ठाकुरले संस्थाको लोगो र झण्डा प्रयोग गरेको कुरा उनको फेसबुक पेजबाट पुष्टि भएको महासचिव बबिता देवीले बताइन्।
अध्यक्ष ठाकुरले महासंघलाई आफ्नो परिवारिकतन्त्र बनाउने सोचले आफ्नो पत्नीलाईसमेत केन्द्रीय समितिमा राखेकोले केन्द्रीय कमिटीको साउन १५ गतेको निर्णय अनुसार उनलाई स्पष्टिकरण सोधिए पनि उनले हालसम्म कुनै स्पष्टिकरण पेश नगरेको प्रवक्ता महतोले बताए।
अध्यक्ष ठाकुरले स्पष्टिकरण पेश नगरि उल्टै केन्द्रीय प्रदाधिकारीहरुलाई गालीगलौज गरेकोले केन्द्रीय कमिटीको साउन १८ गतेको निर्णय अनुसार उनलाई ३ बर्षका लागि साधारण सदस्य समेत नरहने गरि निलम्बन गरिएको सचिव महेन्द्र महतोले जानकारी दिए।
साथै पुस २२ गते काठमाडौंको अनामनगरमा हुने भनिएको महासंघको साधारणसभासमेत स्थगित गरिएको उनले बताए। उनले आगामी माघ ६ र ७ गते जनकपुरधाममा महासंघको विषेश महाअधिवेशन हुने जानकारी दिएका छन्।
नेपाल पिछडावर्ग महासंघले आजिवन सदस्यरसक्रिय सदस्यहरुलाई पुस २९ गतेसम्म आफ्नो सदस्यता प्रमाण लिई देवी चौकस्थित केन्द्रीय सम्र्पक कार्यालयमा अभिलेखीकरण गराउनसमेत अनुरोध गरेको छ।