राप्ती आधारभूत अस्पतालबाट तीन जिल्लाका बिरामीलाइ सेवा - Chaitanya News
  • 2026-03-29
  • 02:19:46
  • शनिबार,चैत्र १४, २०८२
  • राप्ती आधारभूत अस्पतालबाट तीन जिल्लाका बिरामीलाइ सेवा

    राप्ती आधारभूत अस्पतालबाट तीन जिल्लाका बिरामीलाइ सेवा

    तुलसीपुर (दाङ)– यहाँको राप्ती गाउँपालिकाद्वारा सञ्चालित राप्ती आधारभूत अस्पतालबाट तीन जिल्लाका बिरामीलाइ सेवा दिइरहेको छ। लुम्बिनी प्रदेश राजधानीसमेत रहेको यस क्षेत्रमा सञ्चालित १५ शय्याको अस्पतालमा दाङको राप्ती, गढवा, बंलाचुली गाउँपालिकासहित छिमेकी जिल्ला प्यूठान र अर्घाखाँचीका विभिन्न क्षेत्रबाट समेत बिरामी आउने गरेका छन्।

    अस्पताल विकास समितिका अध्यक्ष एवं गाउँपालिका अध्यक्ष प्रकाश विष्टले स्थानीय नागरिकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको अस्पतालमा अन्य क्षेत्र र जिल्लाबाट समेत बिरामी आउने गरेको बताए। बिरामीको चाप बढी भएकाले व्यवस्थापनमा केही दबाब भए पनि नागरिकको विश्वास जित्न थालेकाले आफूहरूलाई काम गर्ने हौसला मिलिरहेको उनको भनाइ छ।

    “यो अस्पताल स्थानीय नागरिकलाई लक्षित गरी सञ्चालनमा ल्याएका थियौँ, हाल दाङसहित प्यूठान, अर्घाखाँचीसम्मका नागरिकले पनि सेवा लिइरहेका छन्। यो हाम्रो सेवाप्रतिको भरोसा पनि हो”, अध्यक्ष विष्टले भने।

    अस्पतालका प्रशासन प्रमुख पृथ्वी पौडेलले यहाँबाट दैनिक एक सयदेखि डेढ सय बिरामीले सेवा लिने गरेको बताए। कुनै कुनै समयमा दैनिक दुई सयसम्म बिरामी आउने गरेको पनि उनले जानकारी दिए। “अस्पतालमा हाल चौबिसै घण्टा आपत्कालीन सेवा, बहिरंग सेवा, भिडियो एक्स–रे, एक्स–रे, प्रयोगशाला, सुरक्षित गर्भपतन, आमा सुरक्षा कार्यक्रम र बिरामी भर्ना गर्ने इन्डोर सेवा सञ्चालनमा छ।

    यस्तै, प्रत्येक महिनाको अन्तिम शनिबार हाडजोर्नीको विशेषज्ञ सेवासमेत सञ्चालनमा छ”, प्रशासन प्रमुख पौडेलले भने।

    हाल यहाँ कन्सल्टेन्ट डाक्टर एकजना, मेडिकल अफिसर चार, स्टाफनर्स, हेल्थअसिस्टेन्ट, अहेब, अनमी पाँचरपाँच जना तथा एनेस्थेसिया असिस्टेन्ट र असिस्टेन्ट फार्मेसी एकरएक जना रहेका छन्।

    यस्तै, ल्याब टेक्निसियन एक जना, ल्याब असिस्टेन्ट चार, रेडियोग्राफर दुई, अस्पताल प्रशासक र कम्प्युटर अप्रेटर एकरएक जना रहेका छन् । सेवा सहजताका लागि अक्सिजन सिलिण्डरसहितको सुविधा सम्पन्न एम्बुलेन्स पनि व्यवस्था गरिएको छ।

    हाल अस्पतालमा आएका सामान्य बिरामीलाई अन्यत्र पठाउनुपर्ने अवस्था नरहेको र चाँडै शल्यक्रिया सेवासमेत सुरु गर्ने तयारी भइरहेको प्रशासन प्रमुख पौडेलले बताए। सकेसम्म विशेषज्ञ सेवा लिन टाढा जान नपरोस् भन्ने उद्देश्यले अस्पतालको सेवा विस्तार गर्न लागिएको उनको भनाइ छ।