प्रधानमन्त्री कार्कीले गरिन् पशुपतिमा रुद्राभिषेक पूजा, भनिन् ‘निर्वाचन सम्पन्न भएकोमा धन्यवाद’ - Chaitanya News
  • 2026-03-29
  • 02:17:42
  • शनिबार,चैत्र १४, २०८२
  • प्रधानमन्त्री कार्कीले गरिन् पशुपतिमा रुद्राभिषेक पूजा, भनिन् ‘निर्वाचन सम्पन्न भएकोमा धन्यवाद’

    प्रधानमन्त्री कार्कीले गरिन् पशुपतिमा रुद्राभिषेक पूजा, भनिन् ‘निर्वाचन सम्पन्न भएकोमा धन्यवाद’

    काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथ मन्दिर दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन्। उनले आज (बुधबार) बिहान पशुपतिनाथ मन्दिर पुगेर दर्शन गरी रुद्राभिषेक पूजा गरेकी हुन् ।

    प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथलाई धन्यवादस्वरुप उक्त पूजा गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ र सहयोग प्राप्त भएकोमा आफू कृतज्ञ रहेको भन्दै उनले आगामी दिनमा मुलुक थप उन्नतिको मार्गतर्फ अग्रसर होस् भनी कामना पनि गरेको सचिवालयले जारी गरेको प्रेसनोटमा उल्लेख छ।

    सचिवालयका अनुसार प्रधानमन्त्री कार्कीले मुलुकभर सबै नेपालीबीच एकता, सद्भाव र आत्मीयताको भावना बलियो बन्दै जाओस् भनी पुकारा पनि गरेकी थिइन् ।

    पूजा कार्यक्रममा संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हा, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा, कार्यकारी निर्देशक सुवास जोशीलगायत पनि सरिक थिए।