काठमाडौँ– सरकारले चालू आर्थिक वर्ष २०८२–८३ को फागुन महिनासम्ममा कुल ७ खर्ब ४७ अर्ब २८ करोड ५ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ। आज (आइतबार) अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार फागुन ३० गतेसम्म सो बराबर राजस्व सङ्कलन भएको हो।
यो सङ्कलन गत वर्षको सोही अवधिको तुलनामा ३।७५ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको फागुन मसान्तसम्म ७ खर्ब २० अर्ब २४ करोड ६६ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो।
त्यस्तै, फागुन महिनामा मात्रै सरकारले ८२ अर्ब २५ करोड ५६ लाख रुपैयाँ राजस्व उठाएको छ।
मन्त्रालयका अनुसार फागुन मसान्तसम्म कुल ९ खर्ब १० अर्ब २० करोड ३३ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको थियो। आठ महिनाको अन्त्यसम्म लक्ष्यको तुलनामा ८२।१० प्रतिशत मात्र प्रगति हासिल भएको अर्थ मन्त्रालयले जनाएको छ।
शीर्षकगत राजस्वको अवस्था:
१– भन्सार महसुल
फागुन मसान्तसम्म सरकारले भन्सार महसुलतर्फ १ खर्ब ९५ अर्ब ९० करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको थियो। तर, १ खर्ब ४४ अर्ब ५० करोड १४ लाख रुपैयाँ मात्र सङ्कलन भएको छ। यो लक्ष्यको ७३.७६ प्रतिशत मात्र हो।
यद्यपि, गत वर्षको सोही अवधिमा १ खर्ब ४४ अर्ब १८ करोड २१ लाख रुपैयाँ सङ्कलन भएको तुलनामा यस वर्ष ८.१२ प्रतिशतले वृद्धि देखिएको छ। भन्सार अन्तर्गत पैठारीमा ८.०४ प्रतिशत र निकासी तर्फ २२५.६५ प्रतिशतको वृद्धि देखिएको छ।
२– मूल्य अभिवृद्धि कर
राजस्वको मुख्य आधार मानिने मूल्य अभिवृद्धि कर (भ्याट) तर्फको सङ्कलनमा पनि ७.३५ प्रतिशतको वृद्धि देखिएको छ। समीक्षा अवधिसम्म २ खर्ब ४६ अर्ब ४३ करोड ९० लाख रुपैयाँको लक्ष्य राखिएकोमा २ खर्ब २५ अर्ब ५३ करोड ४५ लाख रुपैयाँ सङ्कलन भएको छ।
गत वर्ष सोही अवधिमा २ खर्ब १० अर्ब ९ करोड ३२ लाख रुपैयाँ सङ्कलन भएको थियो। भ्याट अन्तर्गत उत्पादन, बिक्री र सेवामा ७.१३ प्रतिशत र पैठारीतर्फ ७.५१ प्रतिशतको वृद्धि भएको छ।
३– अन्तःशुल्क
अन्तःशुल्क सङ्कलनमा दोहोरो अंकको सुधार देखिएको छ। गत वर्षको फागुन मसान्तसम्म १ खर्ब ८ अर्ब ८७ करोड ६४ लाख रुपैयाँ सङ्कलन भएकोमा यस वर्ष १०.४४ प्रतिशतले वृद्धि भई १ खर्ब २० अर्ब ३६ करोड ७३ लाख रुपैयाँ पुगेको छ।
यो अवधिमा १ खर्ब ३३ अर्ब २१ करोड ६४ लाख रुपैयाँ सङ्कलन गर्ने सरकारको लक्ष्य थियो। आन्तरिक उत्पादनतर्फको अन्तःशुल्कमा १०.०१ प्रतिशत र पैठारीतर्फ ११.०६ प्रतिशतको वृद्धि भएको मन्त्रालयले जनाएको छ।
४– आयकर र गैर–कर राजस्वमा गिरावट
आयकर र अन्य राजस्व (गैर–कर) मा भने गिरावट देखिएको छ। आयकर तर्फ गत वर्ष फागुन मसान्तसम्म १ खर्ब ७३ अर्ब २६ करोड ५ लाख रुपैयाँ सङ्कलन भएकोमा यस वर्ष १.४२ प्रतिशतले घटेर १ खर्ब ७० अर्ब ८० करोड ४१ लाख रुपैयाँ मात्र सङ्कलन भएको छ। आयकरको लक्ष्य २ खर्ब ३७ अर्ब ८० करोड ४५ लाख रुपैयाँ थियो।
त्यसैगरी, गैर–कर राजस्वतर्फ ९अन्य राजस्व० गत वर्ष ८१ अर्ब ५४ करोड ७७ लाख रुपैयाँ सङ्कलन भएकोमा यस वर्ष १३.३१ प्रतिशतले घटेर ७० अर्ब ६९ करोड ४८ लाख रुपैयाँ मात्र सङ्कलन भएको छ। गैर–कर राजस्वको लक्ष्य ९३ अर्ब ७७ करोड ३३ लाख रुपैयाँ रहेको थियो।
५– शिक्षा सेवा शुल्क र अन्य
शिक्षा सेवा शुल्क र अन्य साना शीर्षकमा भने उत्साहजनक वृद्धि देखिएको छ। यस शीर्षकमा गत वर्ष २ अर्ब ३८ करोड ७७ लाख रुपैयाँ सङ्कलन भएकोमा यस वर्ष ६६.६२ प्रतिशतले वृद्धि भई ३ अर्ब ९७ करोड ८५ लाख रुपैयाँ पुगेको छ।
यस्तो छ विभागीय कार्यसम्पादनको अवस्था:
विभागीय रूपमा हेर्दा भन्सार विभागले फागुन मसान्तसम्म ३ खर्ब १९ अर्ब ९४ करोड ६१ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यो गत वर्षको तुलनामा १.४८ प्रतिशतले बढी हो। भन्सारलाई यो अवधिमा ३ खर्ब ७८ अर्ब १६ करोड ४७ लाख उठाउने लक्ष्य दिइएको थियो। यो सङ्कलन लक्ष्यको ७९.३१ प्रतिशत हो।
अर्कोतिर आन्तरिक राजस्व विभागले ३ खर्ब ५६ अर्ब ६३ करोड ९७ लाख रुपैयाँ सङ्कलन गरेको छ, जसमा ३।९० प्रतिशतको वृद्धि देखिएको छ। आन्तरिक राजस्वलाई यो अवधिमा ४ खर्ब ३८ अर्ब २६ करोड ५३ लाख उठाउने लक्ष्य दिइएको थियो। यो राजस्व सङ्कलन लक्ष्यको ८१.३८ प्रतिशत हुन आउँछ।