रजत जयन्तीको अवसरमा चैतन्य पाठशालाद्वारा कैलाली बहुमुखी क्याम्पसलाई स्मार्ट बोर्ड हस्तान्तरण - Chaitanya News
  • 2026-04-29
  • 09:29:53
  • बुधबार,बैशाख १६, २०८३
  • रजत जयन्तीको अवसरमा चैतन्य पाठशालाद्वारा कैलाली बहुमुखी क्याम्पसलाई स्मार्ट बोर्ड हस्तान्तरण

    रजत जयन्तीको अवसरमा चैतन्य पाठशालाद्वारा कैलाली बहुमुखी क्याम्पसलाई स्मार्ट बोर्ड हस्तान्तरण

    धनगढी- धनगढीस्थित चैतन्य पाठशालाको २५ औँ वार्षिकोत्सव (रजत जयन्ती) तथा अभिभावक दिवस को अवसरमा ‘चैतन्य शैक्षिक जागरण अभियान’ अन्तर्गत कैलाली बहुमुखी क्याम्पस, धनगढीलाई स्मार्ट बोर्ड हस्तान्तरण गरिएको छ । शिक्षा क्षेत्रमा प्रविधिमैत्री वातावरण निर्माण गर्ने उद्देश्यका साथ चैतन्य पाठशालाले उक्त सहयोग प्रदान गरेको हो ।

    आज चैतन्यको रजत जयन्तीको अवसरमा प्रेरक उपस्थिति महर्षि अन्तर्राष्ट्रिय फाउन्डेसनका निर्देशक डा. किङ्ज्ली, पतञ्जलि योग गुरु लवदेव मिश्र, चैतन्य कृष्ण महाराज, धनगढी उप–महानगरपालिकाका नगर प्रमुख गोपाल हमाल र चैतन्य पाठशालाका पदाधिकारीहरूले संयुक्त रूपमा क्याम्पस प्रमुख डा. लोकराज बिष्टलाई स्मार्ट बोर्ड हस्तान्तरण गरेका हुन ।

    आधुनिक शिक्षामा प्रविधिको प्रयोग अपरिहार्य बन्दै गइरहेको सन्दर्भमा देशकै नमुना क्याम्पसको रूपमा रहेको कैलाली बहुमुखी क्याम्पसमा यसले शिक्षण सिकाइ प्रक्रियालाई थप प्रभावकारी र आधुनिक बनाउन सहयोग पुग्ने विश्वास रहेको चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले बताए ।

    स्मार्ट बोर्ड ग्रहण गर्दै क्याम्पस प्रमुख डा। लोकराज बिष्टले चैतन्य पाठशालाले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै यस्तो पहल सुदूरपश्चिमको शैक्षिक विकासका लागि महत्त्वपूर्ण भएको बताए । उनले चैतन्य पाठशालाले गरेको सहयोग सधैँ स्मरणीय रहने उल्लेख गर्दै प्राप्त स्मार्ट बोर्डलाई चैतन्य पाठशालाको सेमिनार हलमा सञ्चालन हुने विभिन्न शैक्षिक कार्यक्रम, गोष्ठी, अन्तरक्रिया तथा सेमिनारहरूमा प्रयोग गरिने जानकारी दिए ।

    उनले चैतन्य पाठशालाले सञ्चालन गर्दै आएको “चैतन्य शैक्षिक जागरण अभियान” सुदूरपश्चिम क्षेत्रका लागि मात्र नभई देशभरिकै शैक्षिक विकासका लागि प्रेरणादायी र उपयोगी अभियान भएको बताउँदै शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन यस्ता अभियानहरू अझ व्यापक रूपमा सञ्चालन हुनुपर्ने आवश्यकता औँल्याए ।

    चैतन्य पाठशालाले आफ्नो २५ औँ वार्षिकोत्सवको अवसर पारेर विभिन्न शैक्षिक तथा सामाजिक कार्यक्रमहरू आयोजना गरिरहेको छ । रजत जयन्ती समारोह अन्तर्गत विद्यालयले समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्व तथा संस्थाहरूलाई सम्मान गर्ने, सांस्कृतिक तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने लगायतका गतिविधिहरू आयोजना गरिएको छ ।

    “चैतन्य शैक्षिक जागरण अभियान” शिक्षा क्षेत्रमा चेतना अभिवृद्धि गर्ने, प्रविधिमैत्री शिक्षाको प्रवर्द्धन गर्ने तथा शैक्षिक संस्थाहरूबिच सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले सञ्चालन गरिएको पाठशालाका प्राचार्य प्रेमनिधि ओझाले बताए । यस अभियान अन्तर्गत आगामी दिनहरूमा पनि विभिन्न विद्यालय तथा क्याम्पसहरूलाई आवश्यक शैक्षिक सामग्री तथा प्रविधिमैत्री उपकरण उपलब्ध गराउँदै जाने योजना रहेको उनले बताए छ ।