काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चितवन–३ बाट निर्वाचित सांसद सोविता गौतमले प्रतिनिधि सभा निर्वाचनका क्रममा भएको आफ्नो चुनावी खर्चको विवरण सार्वजनिक गरेकी छन्। आज बिहिबार) उनले निर्वाचन अभियानमा भएको खर्चको विवरण सार्वजनिक गरेकी हुन्।
सार्वजनिक विवरणअनुसार गौतमले निर्वाचन अभियानमा कुल ९ लाख ९३ हजार ४५ रुपैयाँ खर्च भएको उल्लेख गरेकी छन्। विवरणमा मनोनयन दर्ताका लागि ५ हजार रुपैयाँ, प्रचार–प्रसार सामग्रीमा ३ लाख १७ हजार ४०० रुपैयाँ तथा मतदाता प्रशिक्षण कार्यक्रममा ३० हजार रुपैयाँ खर्च गरिएको जनाइएको छ।
त्यसैगरी, नमुना मतपत्र र घोषणापत्र छपाइका लागि ७४ हजार २०० रुपैयाँ, वडास्तरीय प्रचार कार्यक्रमका लागि १ लाख रुपैयाँ तथा सवारी साधन प्रयोगमा ३ लाख २५ हजार रुपैयाँ खर्च भएको उल्लेख छ।
विवरणमा सचिवालय सञ्चालनका लागि स्टेशनरी खरिदमा २३ हजार ४४५ रुपैयाँ तथा खाद्यान्न, रासन र पिउने पानीमा १ लाख १८ हजार रुपैयाँ खर्च भएको समेत जनाइएको छ।
निर्वाचनसम्बन्धी प्रचलित कानुनी व्यवस्थाअनुसार प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरूले निर्वाचन अभियानमा भएको खर्चको विवरण सार्वजनिक गरी सम्बन्धित निकायमा बुझाउनुपर्ने प्रावधान रहेको छ।
![]()