संसदीय निर्वाचनमा रास्वपाको ऐतिहासिक सफलता, तीन नयाँ रेकर्ड कायम - Chaitanya News
  • 2026-04-25
  • 01:39:31
  • शुक्रबार,बैशाख ११, २०८३
  • संसदीय निर्वाचनमा रास्वपाको ऐतिहासिक सफलता, तीन नयाँ रेकर्ड कायम

    संसदीय निर्वाचनमा रास्वपाको ऐतिहासिक सफलता, तीन नयाँ रेकर्ड कायम

    काठमाडौँ– गत बिहिबार) सम्पन्न संसदीय निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक रेकर्ड बनाएको छ । प्रत्यक्षतर्फ निर्वाचित सिट सङ्ख्या र प्रतिशतको आधारमा रास्वपाले रेकर्ड कायम गरेको हो ।

    हालसम्म आयोगको आधिकारिक मतपरिणाम अनुसार रास्वपाले १६५ निर्वाचन क्षेत्रमध्ये १२४ सिटमा जित हासिल गरिसकेको छ भने एउटा सिटमा अग्रता कायम गरेको छ । एउटै पार्टीबाट प्रत्यक्षतर्फ यति धेरै सङ्ख्या निर्वाचित भएको सङ्ख्या इतिहासमा पहिलोपटक हो ।

    यसअघि २०६४ सालको निर्वाचनमा तत्कालीन माओवादीले १२० सिटमा जित हासिल गरेको थियो । तर, त्यतिबेला नेपालमा २४० वटा निर्वाचन क्षेत्र रहेको थियो । अहिले १६५ निर्वाचन क्षेत्रमै रास्वपाले त्योभन्दा धेरैको रेकर्ड बनाएको हो ।

    प्रत्यक्षतर्फ निर्वाचित प्रतिशत पनि रास्वपाले बनाएको अर्को रेकर्ड हो । १२१ सिटमा जित निकाल्नु भनेको ७३।३३ प्रतिशत सिट जित्नु हो, जुन अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

    यसअघि २०१५ सालमा भएको पहिलो संसदीय निर्वाचनमा नेपाली कांग्रेसले १०९ मध्ये ७४ सिटमा जित हासिल गरेको थियो । यो ६७।८९ प्रतिशत बराबर हो । त्यसपछिका कुनै पनि चुनावमा त्योभन्दा राम्रो परिणाम प्राप्त भएको छैन ।

    २०४८ सालको निर्वाचनमा २०५ सिट रहेकोमा कांग्रेसले ११० सिट जितेको थियो । यो ५३।६५ प्रतिशत हो ।

    २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा सबैभन्दा ठुलो दल बनेको एमालेले २०५ मध्ये ८८ सिट जितेको थियो । यो ४२।९३ प्रतिशत हो ।

    २०५६ सालमा भएको निर्वाचनमा कांग्रेसले २०५ मध्ये १११ सिटमा जित निकालेको थियो । यो ५४।१५ प्रतिशत बराबर हो ।

    २०६४ सालमा माओवादीले २४० मध्ये १२० सिटमा जित हासिल गरेको थियो, जुन ५० प्रतिशत हो । सो समयमा माओवादीसँग समानुपातिकतर्फ समेत गरि २२० सांसद थिए, जुन सङ्ख्याको आधारमा अहिलेसम्मकै धेरै हो ।

    २०७० सालमा कांग्रेस ठुलो दल बन्यो । उसले २४० सिटमध्ये १०५ सिटमा जित हासिल गरेको थियो जुन ४३।७५ प्रतिशत हो ।

    २०७४ सालमा एमालेले १६५ सिटमध्ये ८० सिटमा जित हासिल गरेको थियो । त्यतिबेला माओवादीले ३६ सिटमा जित हासिल गरेको थियो ।

    २०७९ सालमा कांग्रेसले १६५ मध्ये ५७ सिटमा जित निकालेको थियो जुन ३४।५५ प्रतिशत हो ।

    त्यस्तै, समानुपातिक निर्वाचन प्रणालीमार्फत एउटै पार्टीले सबैभन्दा धेरै मत ल्याएको यो पहिलो पटक हो । अहिलेसम्म गणना भएको मत अनुसार रास्वपाले ४० लाख मत कटाएको छ । जबकि यसभन्दा अघि २०७४ सालमा एमालेले ३१ लाख ७३ हजार मत ल्याएको थियो ।

    २०६४ सालमा माओवादीले ३१ लाख ४४ हजार, २०७० सालमा कांग्रेसले २४ लाख १८ हजार र २०७९ सालमा एमालेले सबैभन्दा धेरै २७ लाख ९१ हजार मत ल्याएको थियो ।