काठमाडौं — पछिल्लो निर्वाचनमा पूर्वसुरक्षाकर्मीहरू उल्लेखनीय रूपमा संसद् प्रवेश गरेका छन्। विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिएका पाँच जना पूर्वसुरक्षाकर्मीले जित निकाल्दै प्रतिनिधिसभामा आफ्नो स्थान सुरक्षित गरेका छन्।
विश्वराज पोखरेल:
सबैभन्दा रोचक जित विश्वराज पोखरेल ले निकाले। ओखलढुंगाबाट उम्मेदवार बनेका उनले जम्मा ५ मतको अन्तरले जित हात पारे। पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कुमार लुइँटेल (नेपाली कांग्रेस) ले १३ हजार ९४८ मत पाए। पूर्व एआईजी पोखरेल प्रहरी संगठनभित्र आईजीपीको दाबेदार मानिँदै आएका थिए, तर जुनियरलाई आईजीपी बनाइएपछि उनले राजीनामा दिएका थिए।
विक्रम सिंह थापा:
विक्रम सिंह थापा पनि रास्वपाबाट निर्वाचित भएका अर्का पूर्वप्रहरी हुन्। कपिलवस्तु–२ बाट उम्मेदवार बनेका उनले २७ हजार ६३५ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी सुरेन्द्र राज आचार्य ९नेपाली कांग्रेस० ले २१ हजार ५२७ मत पाए। पूर्व एसएसपी थापा यसअघि कांग्रेसबाट उम्मेदवार बन्ने तयारीमा भए पनि आन्तरिक विवादपछि रास्वपा प्रवेश गरेका थिए।
गोविन्द पन्थी:
गोविन्द पन्थी ले पनि जित हासिल गरे। गुल्मी–२ बाट उम्मेदवार बनेका पूर्व डीएसपी पन्थीले १६ हजार ८७८ मत ल्याएर गोकर्ण बिष्ट ९नेकपा एमाले० लाई ४९६ मतान्तरले पराजित गरे। बिष्टले १६ हजार ३८२ मत प्राप्त गरेका थिए। ३० वर्ष प्रहरी सेवा गरेर पन्थी हालै अवकाशपछि राजनीतिमा प्रवेश गरेका हुन्।
राजुनाथ पाण्डे:
काठमाडौं–३ बाट उम्मेदवार बनेका राजुनाथ पाण्डे ले पनि प्रभावशाली जित निकाले। उनले १८ हजार ७५७ मत ल्याउँदा उनका प्रतिस्पर्धी कुलमान घिसिङ (उज्यालो नेपाल पार्टी) ले ११ हजार १७१ मत पाए। महानगर प्रहरीका पूर्व प्रमुख ९एसएसपी० पाण्डे बालेन शाह नेतृत्वको काठमाडौं महानगरपालिका सँग काम गर्दै आएका थिए।
शम्भु सुस्केरा:
यस्तै झापा–४ बाट उम्मेदवारी दिएका शम्भु सुस्केरा (वास्तविक नाम शम्भुप्रसाद ढकाल) पनि विजयी भएका छन्। उनले ४३ हजार ६३१ मत ल्याएर एलबी साँवा लिम्बु ९नेकपा एमाले० लाई ठूलो मतान्तरले हराए। प्रहरी सेवाबाट सई पदमा रहँदा उनले रेडियो कार्यक्रम उत्पादन तथा प्रस्तुति क्षेत्रमा पनि लामो समय काम गरेका थिए।
तर सबै पूर्वसुरक्षाकर्मी भने सफल भएनन्। राष्ट्रिय प्रजातन्त्र पार्टी बाट उम्मेदवार बनेका पूर्व आईजीपी ध्रुवबहादुर प्रधान तथा राष्ट्रिय परिवर्तन पार्टी बाट उम्मेदवार बनेका पूर्व आईजी सर्वेन्द्र खनाल भने निर्वाचनमा पराजित भएका छन्।
यसपटकको निर्वाचन परिणामले पूर्वसुरक्षाकर्मीहरू पनि सक्रिय राजनीतिमा प्रभावशाली रूपमा प्रवेश गरिरहेका छन् भन्ने संकेत दिएको छ, विशेषगरी रास्वपामार्फत उनीहरूको उपस्थितिले संसद्मा नयाँ पृष्ठभूमिका प्रतिनिधिहरू थपिएका छन्।