धनगढी– कैलालीको धनगढीस्थित चैतन्य पाठशालामा ११६औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजना गरिएको ‘ चैतन्य आदर्श नारी सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम–२०८२’ सम्पन्न भएको छ । नारी सशक्तीकरण, नेतृत्व विकास तथा समाजमा महिलाको भूमिकालाई सम्मान गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रमको मुख्य विषय ‘नारी नेतृत्व: परिवारदेखि विश्व परिवेशसम्म’ रहेको थियो । सो विषयमा वक्ताहरूले महिलाको नेतृत्व क्षमता, समाज परिवर्तनमा महिलाको भूमिका तथा समान अवसरको आवश्यकताबारे विचार व्यक्त गरेका थिए ।
ज्येष्ठ नागरिक अभिभावक भगवती खनालको सभापतिथत्यतामा शुभारम्भ भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा जिल्ला समन्वय समिति कैलालीकी प्रमुख टिका कुमारी चौधरी (भुल) सहभागी भएकी थिइन् । त्यस्तै कार्यक्रममा साहित्यकार उषा जोशी, कोपिला शर्मा (कल्प) महिला क्रिकेट खेलाडी स्नेहा महरा, धनगढीकी प्रसिद्ध चिया वाली आसिका ओली लगायत विभिन्न क्षेत्रका महिला र चैतन्य पाठशालाका महिला अभिभावकको ठुलो उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख भुलले महिलाहरूले परिवारदेखि राज्य सञ्चालनसम्म महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै महिला सशक्तीकरणका लागि शिक्षा सबैभन्दा बलियो आधार भएको बताइन् । उनले समाजमा महिलाको सम्मान, समानता र अधिकार सुनिश्चित गर्न सबै पक्षले सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याइन् । उनले भनिन् महिलाले सम्पूर्ण कुराहरू गर्न सक्छिन्। शास्त्रहरूमा समेत महिलाहरूको अग्रणी भूमिका देखिँदै आएको छ। त्यसैले महिलाहरूलाई उपेक्षा भन्दा पनि उत्प्रेरणाको जरुरी रहेको बताएकी हुन् ।
कार्यक्रममा स्वागत भाव प्रस्तुत गर्दै पाठशालाकी सह प्रधानाध्यापक सपना सिंहले पाठशालाले विभिन्न समयमा महिला केन्द्रित कार्यक्रमहरू गर्दै आएको र यसले गर्दा महिला सशक्तीकरणमा ऊर्जा थपेको बताइन् । उनले भनिन् आजको समाजमा महिला हरू केही मात्रामा भए पनि खुलेर बोल्न र काम गर्न सक्ने स्थानमा पुगेका छन्। यसलाई अझ उकास्न सकेमा महिला प्रतिनिधित्व बढ्दै जाने र महिलाले समेत हरेक कुरा गर्न सक्छन् भन्ने कुराको प्रस्ट प्रमाण हालको सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई समेत लिन सकिने भनाइ व्यक्त गरिन् ।
कार्यक्रमका अवसर उपस्थित महिलाहरूलाई ‘चैतन्य आदर्श नारी सम्मान’ समेत प्रदान गरिएको थियो । मायाको चिनो सहित सम्पूर्णलाई सम्मान गरिएको समेत विद्यालयका निर्देशक कटक बहादुर सिंहले बताए ।
कार्यक्रममा जलपान कार्यक्रमसँगै विभिन्न सांस्कृतिक सांस्कृतिक र योगाका प्रस्तुतिहरू समेत प्रस्तुत भएका थिए। जसले उपस्थित सम्पूर्णमा थप उत्साह थपेको थियो।
अन्तर्राष्ट्रिय नारी दिवसलाई औपचारिक रूपमा मात्र नभई व्यवहारिक रूपमा पनि मनाउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिँदै आएको चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले बताए । उनले भने विद्यालय स्तरबाटै विद्यार्थीहरूमा लैङ्गिक समानता, महिला सम्मान र नेतृत्व विकासको चेतना फैलाउनु आवश्यक रहेको र हाम्रो सभ्यतामा समेत सदैव नारिलाई उच्च स्थानमा राखिएको र त्यो कुरालाई हामीले शिक्षा सँग संस्कारमा जोड्न खोजेको अध्यक्ष जोशीको भनाई रहेको थियो ।
कार्यक्रमको अन्त्यमा उपस्थित सबैले अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना आदान–प्रदान गर्दै महिलाको सम्मान र समान अवसर सुनिश्चित गर्ने अभियानलाई अझ सशक्त रूपमा अघि बढाउनु पर्ने चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझाले बताए उनले सरकारले मात्र गरेका प्रयासले मात्र समान अधिकार प्राप्त नहुने र त्यसको लागि आफ्नो घर आगमनबाटै त्यसको सुरुवात गर्नुपर्ने बताए ।