काठमाडौँ– जेन जेड आन्दोलनका क्रममा भदौ महिनामा भएका घटनाक्रम तथा त्यससँग सम्बन्धित मानवीय र भौतिक क्षतिको विषयमा अनुसन्धान गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पेश गरेको छ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा रहेको आयोगका पदाधिकारीहरूले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर प्रधानमन्त्री कार्कीलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन्।
प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कार्कीले उक्त दस्ताबेजको अध्ययनपछि आवश्यक प्रशासनिक तथा कानुनी प्रक्रिया अघि बढाइने बताएकी छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रतिवेदनको अध्ययनपश्चात् सरकारका तर्फबाट थप निर्णय गरिने छ।
भदौ २३ र २४ गते भएका घटनाका क्रममा भएको भनिएको मानवीय तथा भौतिक क्षतिको यथार्थ अवस्था पत्ता लगाउने उद्देश्यले गठन गरिएको आयोगले तेस्रो पटक थपिएको समय सीमा सकिनु अघि नै प्रतिवेदन पेश गरेको हो।
जेन जेड आन्दोलनपछिको राजनीतिक परिस्थितिमा सुशीला कार्की नेतृत्वको अन्तरिम निर्वाचन सरकार गठन भएपछि असोज ५ गते तीन सदस्यीय जाँचबुझ आयोग स्थापना गरिएको थियो। आयोगमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वर भण्डारी सदस्यका रूपमा रहेका छन्।