काठमाडौं- नेपाली कांग्रेससँगको सत्ता गठबन्धन अप्रत्यासित रूपमा टुटेपछि नेकपा एकीकृत समाजवादी (नेकपा एस) का नेता हालको सरकारलाई सर्मथन गर्ने कि अर्को पार्टीसँग एकता गर्ने भन्नेमा दोधारमा छन्।
निर्वाचनको समीक्षा, वर्तमान सरकारलाई समर्थन गर्ने कि नगर्ने तथा अर्को पार्टीसँग एकता गर्ने कि नगर्ने भन्ने विषयमा छलफल गर्न बसेका नेकपा एसका दुई वटा बैठक स्पष्ट धारणा निर्माण गर्न नसकी टुंगिएका छन्। यिनै विषयमा धारणा बनाउन बसेका नेकपा एस स्थायी कमिटी र पोलिटब्युरो बैठक निष्कर्षमा पुग्न नसकेका हुन्।
बैठकमा सहभागी नेताहरूले बैठकका अजेन्डामा प्रस्ट धारणा राख्न सकेनन्। अर्को पार्टीसँग एकता, सहकार्य, मोर्चा बनाउने, वामपन्थी जनमतलाई एकै ठाउँमा ल्याउने र पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्नेबारेमा स्थायी कमिटी र पोलिटब्युरो दुवै बैठक टुंगोमा नपुगेपछि निर्णय गर्ने अधिकार सचिवालय बैठकलाई दिइएको छ।
त्यस्तै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुनका लागि सम्मानजनक पद बाँडफाँट हुनुपर्ने सर्त राखेको छ। जसपाको मंगलबार सम्पन्न राजनीतिक समितिको बैठकले नीति तथा कार्यक्रम र शक्तिको बाँडफाँटको विषयमा सहमति नभए बाहिरबाटै सरकारलाई समर्थन गर्ने निर्णय गरेको हो।
राष्ट्रपति, प्रधानमन्त्री, सभामुखसहितका पदमा एमाले र माओवादी केन्द्रले भागबन्डा गरेपछि जसपाले उपराष्ट्रपति, उपसभामुखसहित प्रदेशसम्म सम्मानजनक भाग खोजेको छ।
जसपा प्रवक्ता मनिष सुमनले सत्ता गठबन्धनका प्रमुख घटकले ल्याउने प्रस्तावका साथै न्यूनतम साझा कार्यक्रमका आधारमा सरकारमा सहभागिताका विषयमा निर्णयमा पुग्ने जानकारी दिए।माओवादीले उपराष्ट्रपति लिने तयारी गरेका बेला जसपाले उक्त पद दाबी गरेको छ। उसले संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाउन चाहेको छ। यता सरकारको नेतृत्व गरेको माओवादी भने जसपालाई उप्रधानमन्त्रीसहित सरकारमा सहभागी गराउने तयारीमा छ।