काठमाडौं– युवा पुस्ताको प्रतिनिधि आवाजका रूपमा चिनिएकी रञ्जु दर्शना अन्ततः संघीय संसद् पुग्न सफल भएकी छन्। एक समय काठमाडौं महानगरपालिकाको मेयरमा युवा उमेरमै चुनाव लडेर चर्चा कमाएकी उनी अहिले प्रतिनिधिसभा सदस्य बनेकी छन्।
बिहीबार सम्पन्न निर्वाचनमा उनले १५ हजार ४५५ मत प्राप्त गर्दै विजय हासिल गरिन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापा क्षेत्री ले ६ हजार ३६४ मत पाए भने राप्रपाका रवीन्द्र मिश्र ले ३ हजार ९७२ मत पाए।
रञ्जुको राजनीतिक यात्रा भने धेरै पहिलेबाट सुरु भएको थियो। १७ वर्षको उमेरमै उनी विवेकशील नेपाली पार्टीमार्फत राजनीतिमा सक्रिय भएकी थिइन्। त्यस समय नेपाल बन्द र हड्तालको विरोध गर्दै उनले सडक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन्। नागरिकलाई सास्ती दिने बन्द संस्कृतिको विरोधमा सञ्चालन भएको ‘बन्द बहिष्कार अभियान’मा उनी अग्रपंक्तिमा देखिएकी थिइन्।
राजनीतिसँगै सामाजिक काममा पनि उनको सक्रियता देखियो। २०७२ सालको भूकम्प पछि राहत र पुनर्स्थापनाको कार्यमा उनी संलग्न भइन्। भ्रष्टाचारविरुद्ध डा. गोविन्द केसीले गरेको आन्दोलनमा पनि उनले सहयोगी भूमिका निभाइन्।
२०७४ सालको स्थानीय निर्वाचनमा भने उनले ठूलो जोखिम उठाइन्। मात्र २२ वर्षको उमेरमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनेर उनी चुनावी मैदानमा उत्रिइन्। ‘काठमाडौंलाई विश्वकै सुन्दर शहर बनाऔँ’ भन्ने नारासहित मैदानमा उत्रिएकी उनले २३ हजार ४३९ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरिन्। यही चुनावले उनलाई राष्ट्रिय स्तरमा चिनायो।
त्यसपछि राजनीतिक उतारचढाव पनि आए। विवेकशील पार्टीभित्र आन्तरिक विवाद बढेपछि उनले २०७८ सालमा पार्टी छोडिन्। केही समय स्वतन्त्र राजनीतिमा रहेकी उनले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–५ बाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडिन्। ‘सेलरोटी’ चुनाव चिह्नसहित मैदानमा उत्रिए पनि त्यसबेला उनले ६०० मत मात्र पाएकी थिइन्।
तर उनले राजनीतिक यात्रा रोकिनन्। २०८१ सालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्दै पार्टीको केन्द्रीय सदस्य बनिन्। यही पार्टीबाट काठमाडौं क्षेत्र नम्बर १ मा उम्मेदवार बनेर उनले यसपटक प्रतिनिधिसभामा स्थान सुरक्षित गरिन्।
काठमाडौंको मैतीदेवी क्षेत्रकी स्थायी बासिन्दा रञ्जु दर्शनाले स्नातक तहसम्म अध्ययन गरेकी छन्। सडक आन्दोलनबाट सुरु भएको उनको राजनीतिक यात्रा अहिले संसद् भवनसम्म पुगेको छ।