लठ्ठी टेक्दै मतदान केन्द्रसम्मः सन्ततिको भविष्यका लागि शताब्दी पार गरेकाहरूले गरे मतदान - Chaitanya News
  • 2026-04-25
  • 14:01:01
  • शनिबार,बैशाख १२, २०८३
  • लठ्ठी टेक्दै मतदान केन्द्रसम्मः सन्ततिको भविष्यका लागि शताब्दी पार गरेकाहरूले गरे मतदान

    लठ्ठी टेक्दै मतदान केन्द्रसम्मः सन्ततिको भविष्यका लागि शताब्दी पार गरेकाहरूले गरे मतदान

    काठमाडौँ– प्रतिनिधि सभा सदस्य निर्वाचनमा युवापुस्ताको चर्चा व्यापक भइरहँदा अर्को भावनात्मक पक्ष पनि देखिएको छ । आफ्ना सन्ततिको भविष्य सुरक्षित होस् भन्ने चाहनाले शताब्दी पार गरेका बृद्ध–बृद्धासमेत मतदानमा सहभागी भएका छन् ।

    कुनै समय राजनीतिप्रति खासै चासो नदिने भनिने पुस्ता अहिले मतदानमा सक्रिय देखिँदा लोकतन्त्रप्रतिको विश्वास अझ स्पष्ट भएको छ । अझ रोचक कुरा त के भने, ७०–८० वर्ष मात्र होइन, १०० वर्षभन्दा माथिका नागरिकसमेत भोट हाल्न मतदान केन्द्रसम्म पुगेका दृश्यहरू देशभर देखिए ।

    अछामको बन्निगढी जयगढ गाउँपालिका–६ दर्नास्थित ऐश्वर्य माध्यमिक विद्यालय मतदान केन्द्रमा १०७ वर्षीया कमलादेवी शाहीले मतदान गरिन् । नेपालीहरूको औसत आयुभन्दा निकै बढी उमेर भएकी उनीलाई आफन्तहरूले काठको कुर्सीमा बोकेर मतदान केन्द्रसम्म पुर्‍याएका थिए ।

    उदयपुरगढी नगरपालिका–६ जगरेटारका १०२ वर्षीय अमृतबहादुर कार्कीले पनि नेपालटार माध्यमिक विद्यालयस्थित मतदान केन्द्रमा पुगेर भोट हाले । दौरा–सुरुवाल र ढाका टोपीमा सजिएका उनलाई आफन्तले समातेर मतदान केन्द्रसम्म पुर्‍याएका थिए ।

    काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी निवासी बालानन्द खतिवडाले पनि मतदानमा भाग लिए । १०० वर्ष पुग्न अझै दुई वर्ष बाँकी रहेका उनले मुलपानीस्थित राष्ट्रिय निर्माण माध्यमिक विद्यालयको मतदान केन्द्रमा आफ्नो मत प्रयोग गरे ।

    भीमदत्त नगरपालिका–१० जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालयमा १०६ वर्षीय गंगादत्त भट्टले पनि मतदान गरेका छन् । त्यस्तै धनगढीका १०७ वर्षीय जनकलाल दहालले पञ्चोदय माध्यमिक विद्यालय मतदान केन्द्रबाट भोट हाले ।

    देशका विभिन्न ठाउँमा लठ्ठीको सहाराले हिँड्ने, आफन्तको सहारामा पुग्ने वा बोकेरै मतदान केन्द्रसम्म पुर्‍याइएका बृद्ध–बृद्धाले मतदान गरेका दृश्यहरूले लोकतन्त्रप्रतिको विश्वास र जिम्मेवारीको भावना झल्काएको देखिन्छ ।

    आफ्नो जीवनको लामो यात्रापछि पनि भविष्यको पुस्ताका लागि मत दिन मतदान केन्द्रसम्म पुग्ने यस्ता नागरिकहरूले लोकतन्त्रप्रति गहिरो आस्था रहेको सन्देश दिएका छन् ।