गृह मन्त्रालयको नियन्त्रण कक्षबाट देशभरको निर्वाचन २०८२ को सुरक्षा गतिविधि अनुगमन - Chaitanya News
  • 2026-04-25
  • 13:59:55
  • शनिबार,बैशाख १२, २०८३
  • गृह मन्त्रालयको नियन्त्रण कक्षबाट देशभरको निर्वाचन २०८२ को सुरक्षा गतिविधि अनुगमन

    गृह मन्त्रालयको नियन्त्रण कक्षबाट देशभरको निर्वाचन २०८२ को सुरक्षा गतिविधि अनुगमन

    काठमाडौँ– प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का सन्दर्भमा गृह मन्त्रालयले देशभरको निर्वाचन सुरक्षा गतिविधिको केन्द्रीय रूपमा अनुगमन गरिरहेको जनाएको छ।

    गृह मन्त्रालयका अनुसार गृहमन्त्रीको संयोजकत्वमा रहेको केन्द्रीय सुरक्षा समितिका पदाधिकारी, गृह सचिवको संयोजकत्वमा रहेको केन्द्रीय कमाण्ड पोस्टका पदाधिकारी तथा प्रदेश समन्वय डेस्कमा खटिएका सहसचिव तथा विभागीय प्रमुखहरूको टोलीले मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखामा सञ्चालित नियन्त्रण कक्ष (कन्ट्रोल रुम) बाट देशभरका निर्वाचन सुरक्षा गतिविधि तथा अन्तरगत निकायबाट प्राप्त प्रतिवेदनबारे जानकारी लिएका छन्।

    मन्त्रालयका अनुसार निर्वाचन अवधिभर शान्ति सुरक्षा सम्बन्धी अनुगमन, नियमन तथा समन्वयका लागि गृह मन्त्रालयमा २४ घण्टा नियन्त्रण कक्ष सञ्चालनमा रहेको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा धाँधलीरहित बनाउन तथा प्रभावकारी शान्ति सुरक्षाको प्रत्याभूति कायम गर्न प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि तयार गरिएको एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको मन्त्रालयले जनाएको छ।

    सुरक्षा समन्वय महाशाखाका प्रमुख आनन्द काफ्लेको संयोजकत्वमा सञ्चालित गृह निर्वाचन सेल पनि सोही नियन्त्रण कक्षबाट सञ्चालन भइरहेको छ।

    समग्र रूपमा देशभर शान्ति सुरक्षाको अवस्था चुस्त र प्रभावकारी रहेको तथा मतदानमा नागरिकहरूको उत्साहपूर्ण सहभागिता देखिएको समीक्षा गर्दै निर्वाचनको अन्तिम परिणाम घोषणा नहुँदासम्म सुरक्षा व्यवस्थालाई अझ प्रभावकारी बनाउन सबै कर्मचारी तथा सुरक्षा निकायलाई निर्देशन दिइएको गृह मन्त्रालयका सहप्रवक्ता रमा आचार्य (सुवेदी) ले जानकारी दिइन्।