प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मतदान शुरु - Chaitanya News
  • 2026-04-25
  • 13:59:37
  • शनिबार,बैशाख १२, २०८३
  • प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मतदान शुरु

    प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मतदान शुरु

    काठमाडौं– प्रतिनिधि सभा निर्वाचन २०८२ को मतदान शुरु भएको छ । निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि देशभर मतदान शुरु भएको जानकारी दिएको हो।

    निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, ‘भर्खरै ७ बजेदेखि देशव्यापी रुपमा मतदान शुरु भयो। सबैतिर निर्वाध ढंगले मतदान शुरु भएको खबर आइसकेको छ।’

    मतदाताहरुले आज अपराह्न ५ बजेसम्म मतदान गर्न पाउनेछन्। निर्वाचन आयोगले मतदाता परिचयपत्र, नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतीपत्र, राहदानी र लालपूर्जा देखाएर मतदान गर्न पाइने जनाएको छ।

    मतदानमा महिला र पुरुषको छुट्टाछुट्टै लाइन हुनेछ। अपांगता भएका, अशक्त, वृद्धवृद्धा, बिरामी, सुत्केरी, गर्भवतीहरुलाई लाइनमा बस्न नपर्ने विशेष सुविधा हुनेछ। निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ।

    ३ हजार ६८० वटा अति संवेदनशील मतदान केन्द्र छन् । मदतान केन्द्रलाई ४ हजार ४४२ वटा संवेदनशील मतदान केन्द्र र २ हजार ८४५ सामान्य मतदान केन्द्र भनेर वर्गीकरण गरिएको छ।

    १४३ अस्थायी मतदानस्थल तय गरिएको छ।

    निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका छन्। निर्वाचनमा दुई लाख १५ हजार सरकारी कर्मचारी खटिएका छन्।