आज देशभर प्रतिनिधिसभा निर्वाचन, कडा सुरक्षाबीच मतदान हुँदै - Chaitanya News
  • 2026-04-25
  • 13:59:39
  • शनिबार,बैशाख १२, २०८३
  • आज देशभर प्रतिनिधिसभा निर्वाचन, कडा सुरक्षाबीच मतदान हुँदै

    आज देशभर प्रतिनिधिसभा निर्वाचन, कडा सुरक्षाबीच मतदान हुँदै

    काठमाडौँ– देशभर आज प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदैछ।

    नेपालका ७७ वटै जिल्लामा बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुने भएको हो।

    यस निर्वाचनमा ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’ (प्रत्यक्ष)तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि मतदान हुनेछ।

    प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन्। प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

    यसैगरी समानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार १ हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन्।

    यस पटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन्।

    यस्तै, एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ।

    निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएका छन्। यस्तै, १४३ अस्थायी मतदानस्थल तय गरिएका छन्।

    ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त तथा गर्भवती महिलालगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ।

    झण्डै तीन लाख सुरक्षाकर्मी परिचालन:
    निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना परिचालन गरिएको छ। त्यस्तै ७५ हजार ७९७ नेपाल प्रहरी र ३४ हजार ५६७ सशस्त्र प्रहरी बल परिचालन गरिएको छ।

    राष्ट्रिय अनुसन्धान विभागबाट एक हजार ९२१ जना तथा निर्वाचन प्रहरीका रूपमा एक लाख ४९ हजार ९० जना खटाइएको छ।

    निर्वाचन गराउन दुई लाख १५ हजार कर्मचारी खटिँदैछन्। आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ कुल चार करोड २२ लाख ५१ हजार २०० मतपत्र छपाइ गरी सम्बन्धित मतदान केन्द्रमा पुर्‍याइसकेको जनाएको छ।

    यसपटकको निर्वाचनमा ४ अन्तर्राष्ट्रिय र ३९ राष्ट्रिय संस्था पर्यवेक्षणमा खटिएका छन्।

    राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की तथा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायतले निर्वाचन प्रक्रियामा उत्साहजनक रूपमा सहभागी भई मतदान गर्न आह्वान गरिसकेका छन्।

    गृहमन्त्री ओमप्रकाश अर्यालले पनि निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइएकाले निर्धक्क भएर मतदानमा सहभागी हुन मतदातासँग आग्रह गरेका छन्।