काठमाडौँ– प्रदेशसभाका निःवर्तमान सभामुख उपसभामुखको साझा फोरम स्पिकर्स फोरम नेपालका संयोजक राजबहादुर शाहीले प्रदेशसभालाई प्रभावकारी बनाउँदै लैजानुपर्ने बताएका छन्।
स्पिकर्स फोरम नेपालले मंगलबार काठमाडौँमा आयोजना गरेको अन्तरक्रियामा संयोजक शाहीले क्रियाशील संस्थापक प्रदेशसभाका सभामुख र उपसभामुखहरूको अनुभवबाट प्रदेशसभालाई आगामी दिनमा झनै प्रभावकारी बनाउँदै लैजानुपर्ने बताए।
उनले प्रदेशसभामा पारदर्शीताको अपरिहार्यतालाई स्थापित गर्न सक्नुपर्नेमा जोड दिए।
खुला संसदले सरकार एवं शासन व्यवस्थालाई पारदर्शी बनाउने उनको भनाइ छ।
संयोजक शाहीले भने, ‘पारदर्शीताको आधार स्तम्भ भनेकै विधायिक खुलापन हो भन्ने मान्यता अनुरूप हामी आफूहरूले आर्जन गरेको अनुभव र ज्ञानलाई संसदीय खुलापनको क्षेत्रमा वकालत गर्न लगाउने विचार गरेका छौँ। हाम्रा संसदहरू जति क्रियाशील र खुला हुन्छन् सरकार र व्यवस्था त्यत्तिनै पारदर्शी हुन्छ। पारदर्शी सरकार नै देश र जनताप्रति जिम्मेवार र जवाफदेही बन्छन्। जनताप्रति उत्तरदायी बन्ने भनेको पारदर्शी सरकार हो। त्यसैले पारदर्शीताको आवश्यकता छ। संसदीय खुलापनलाई पनि हामीले अवलम्वन गर्नुपर्नेछ, त्यसमा हामी सबैले प्रोत्साहन दिनुपर्छ।प्रदेशसभाको विधायिकी स्वायत्तता , विधायिकी खुलापन र विधायिकी जवाफदेहीतामा मेहनतका साथ काम गर्नुपर्नेछ। प्रदेशसभालाई प्रभावकारी बनाउँदै लैजानुपर्छ। यसका लागि नयाँ नेतृत्वलाई हाम्रो अनुभव महत्त्वपूर्ण हुन्छ।’
उनले संघीय संसदले हासिल गरेका ज्ञान, सीप र अनुभवलाई प्रदेशसभासम्म लैजानसके प्रदेशसभाको संसदीय कामकारबाहीमा थप चुस्तता हुने विश्वास व्यक्त गरे।
नेपालको संघीय संरचनाको महत्त्वपूर्ण पक्ष नै प्रदेश संरचना भएको उल्लेख गर्दै उनले पहिलो कार्यकालको कामको समीक्षा गरी संवैधानिक, राजनैतिक र विधायिकी अड्चनहरूको पहिचान र निरुपण गर्न जरुरी रहेको बताए।