इरानमा आक्रमणः हवाई आक्रमणमा २०१, विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु - Chaitanya News
  • 2026-04-25
  • 17:22:20
  • शनिबार,बैशाख १२, २०८३
  • इरानमा आक्रमणः हवाई आक्रमणमा २०१, विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

    इरानमा आक्रमणः हवाई आक्रमणमा २०१, विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

    काठमाडौँ– अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट कम्तीमा १०८ जनाको मृत्यु भएको स्थानीय सरकारी अधिकारीले बताएका छन्।

    इरानभर भएका हवाई आक्रमणमा भने कम्तीमा २०१ जनाको मृत्यु र ७४७ जना घाइते भएको तथ्यांक छ। राष्ट्रपति मोसुद पेजेस्कियानले विद्यालयमा भएको आक्रमणलाई ‘जंगली कार्य’ र ‘आक्रमणकारीहरूले गरेका असंख्य अपराधहरूको इतिहासमा अर्को कालो पाना’ भनेर टिप्पणी गरेका छन्।

    इजरायल र अमेरिकाबाट भने विद्यालयमा आक्रमण भएको विषय पुष्टि भएको छैन। उक्त विद्यालय इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर ९आईआरजीसी० को क्याम्पबाट करिब ६०० मिटर नजिकै पर्दछ । आईआरजीसी क्याम्प इजरायल र अमेरिकाको आक्रमणको निशाना बनेको थियो ।

    एक अधिकारीका अनुसार होर्मोजगान प्रान्तको मिनाब सहरस्थित उक्त विद्यालयमाथि तीनवटा मिसाइल खसेका थिए।

    बीबीसीले विस्फोटपछिको अवस्थासम्बन्धी केही भिडियो क्लिपहरू प्रमाणीकरण गरेको जनाएको छ, जसमा एक भवनबाट धुवाँ उडिरहेको, वरिपरि मानिसहरूको भीड लागेको र चिच्याइरहेको सुनिन्छ।

    तर मृतकको संख्या स्वतन्त्र रूपमा पुष्टि गर्न भने नसकेको बीबीसीले जनाएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूलाई प्रायस् इरानमा भिसा नदिइने भएकाले त्यहाँ तथ्य संकलन गर्न कठिन हुने गर्दछ।