काठमाडौं– नेकपा (माओवादी केन्द्र) की नेतृ एवं प्रतिनिधिसभाकी पूर्वसभामुख ओनसरी घर्तीले संघीय कानून निर्माण हुन नसक्दा प्रदेश र स्थानीय सरकारलाई समस्या परिरहेको बताएकी छन्। कानून निर्माणमा पहिलो प्राथमिकतामा हुनुपर्ने उनको भनाइ छ
मंगलवार स्पिकर्स फोरम नेपालले काठमाडौंमा आयोजना गरेको प्रदेशसभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएकी हुन्। नेतृ घर्तीले संघीय शासनप्रणालीको दोस्रो कार्यकाल शुरू भइसक्दासमेत संघमा आवश्यक कानून निर्माण हुन नसकेकाले आम सर्वसाधारणलेसमेत समस्या व्यहोरिरहेको बताइन्। उनले संघीय कानून बनिसकेपछि मात्रै प्रदेशसभाको प्रभावकारिता बढ्ने बताइन्।
पूर्वसभामुख घर्तीले जनताले आफ्ना जनप्रतिनिधिहरूले संसदमा गरिरहेका कार्यहरू हेर्न पाउनुपर्ने बताइन्। उनले जनता र जनप्रतिनिधिबीचको सम्बन्ध ५ वर्षमा भोट माग्न जानेकुरामा मात्रै सीमित हुननहुने बताइन्। उनले संसदमा जनगुनासाहरूको सम्बोधन हुनुपर्ने पनि बताइन्। उनले जनप्रतिनिधिहरूले पद पाएपछि जनतासँग गरेका वाचाहरु भुल्नसक्ने भन्दै जनताले आफ्ना जनप्रतिनिधिहरूलाई झक्झकाइरहनुपर्ने बताइन्।
पूर्वसभामुख घर्तीले नेपालमा सुशासनको समस्या बढिरहेको बताइन्। उनले जनताले गर्नै नसकिने काम गर्न नलगाएको भन्दै जनताले चाहेका काम सांसदले पूरा गर्नुपर्ने बताइन्। उनले जनताको काम गर्न र संसदका गतिविधिहरूलाई पारदर्शी बनाउन संघ र प्रदेशले प्रभावकारी भूमिका खेल्नुपर्ने बताइन्। उनले पछिल्लो समय भ्रष्टाचार बढिरहेको भन्दै सरकारको हरेक निकायहरूले भ्रष्टाचारी संस्कार सिकिसकेको उल्लेख गरिन्।
उनले भ्रष्टाचार नियन्त्रणका लागि नयाँ सांसदहरुलाई ठूलो चुनौती रहेको बताउँदै नेपालमा भएको पैसा पनि खर्च हुन नसकेको गुनासो गरिन्।