भोट हाल्नका लागि ८ लाख मतदाताले काठमाडौँ छोड्ने अनुमान - Chaitanya News
  • 2026-04-25
  • 17:23:11
  • शनिबार,बैशाख १२, २०८३
  • भोट हाल्नका लागि ८ लाख मतदाताले काठमाडौँ छोड्ने अनुमान

    भोट हाल्नका लागि ८ लाख मतदाताले काठमाडौँ छोड्ने अनुमान

    काठमाडौँ– आसन्न फागुन २१ का लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनमा मतदानका लागि काठमाडौँमा विभिन्न पेसा व्यवसाय गरेर बसेकाहरू गाउँ फर्किन थालेका छन्।

    निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ ५ बजेसम्म अत्यावश्यक बाहेकका सबै सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ। जसअनुसार अब गाउँ फर्किनेहरूका लागि अब अब ५ दिनको समयमात्रै बाँकी छ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष सरोज सिटौलाले निर्वाचनमा करिब ७ देखि ८ लाख मानिसले काठमाडौँ छोड्ने अनुमान गरिएको बताए।

    सिटौलाले पछिल्ला केही दिनदेखि नै मानिसहरू बाहिरिने क्रम सुरु भइसकेको बताउँदै अबको केही दिनमा यो सङ्ख्या अझै बढ्ने बताए। विशेषगरी मधेस प्रदेशमा होली पर्व नजिकिएको र निर्वाचनका कारण अत्यधिक चाप देखिएको उनको भनाइ छ।

    विगतका चुनावहरूमा राजनीतिक दलहरूले नै ठुलो सङ्ख्यामा गाडी रिजर्भ गर्ने र मतदाताको भाडा तिर्ने प्रचलन बढी हुने गरेको भए पनि यस पटक त्यस्तो अवस्था कम देखिएको सिटौलाको भनाइ छ।

    उनले भने, ‘अहिले दैनिक बुकिङ नै भइरहेको छ, अग्रिम बुकिङको चाप त्यति छैन । पार्टीहरूले नै रिजर्भ गरेर लाने भन्दा पनि मानिसहरू आफैँ वा समूहमा रिजर्भ गरेर जाने क्रम बढी छ।’

    साथै यातायात व्यवसायीहरूले मतदाता ओसार्न दलहरूले प्रत्यक्ष पैसा तिरेको आधिकारिक जानकारी नभए पनि मानिसहरूमा चुनावमा जाने उत्साह भने राम्रो रहेको बताएका छन्।

    कहिलेसम्म चल्न पाउँछन् सवारी साधन ?

    फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ ५ बजेसम्म अत्यावश्यक बाहेकका सबै सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ।

    आयोगका अनुसार उक्त अवधिमा एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकायका सवारी, विद्युत्, खानेपानी, ढल तथा दूरसञ्चार मर्मतका सवारी साधन भने निर्बाध रूपमा सञ्चालन गर्न पाइनेछ। अन्य सवारी साधन भने आयोगबाट पास प्राप्त गरेपछि मात्रै चलाउन पाइने व्यवस्था गरिएको छ। निर्वाचनको दिन शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न यस्तो निर्णय गरिएको आयोगले जनाएको छ।

    सिटौलाले पनि चुनावको समयमा गाडी चल्ने वा नचल्ने विषयमा सरकार र निर्वाचन आयोगको निर्णय नै अन्तिम हुने प्रस्ट पारे। ‘सरकार र निर्वाचन आयोगले जुन तालिका दिन्छ, हामीले त्यही पालना गर्ने हो । चुनावको अघिल्लो दिनसम्मको जे सेड्युल छ, त्यही अनुसार यातायात सञ्चालन हुन्छ,’ उनले भने। हाल मतदाता र सर्वसाधारणको सहजताका लागि सबै क्षेत्रमा सवारीहरू पुर्‍याउने व्यवस्था मिलाइएको छ।