काठमाडौं– आसन्न फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि सात प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)लाई सातै प्रदेशमा खटाइएको छ।
निर्वाचन सुरक्षा चुस्त पार्नका लागि प्रहरी प्रधान कार्यालय तथा विभिन्न विभागहरूमा रहेका सात एआईजीलाई प्रदेश कमाण्डमा खटाइएको हो। उनीहरूले निर्वाचन अवधिभर प्रदेशमा रहेर त्यस मातहतका जिल्लाहरूको सुरक्षा कमाण्ड गर्ने बताइएको छ।
जसअनुसार कोशी प्रदेशमा मानव स्रोत विभागका एआईजी राजन अधिकारीलाई खटाइएको छ। उनले कोशी प्रदेशका जिल्लाहरूमा गएर अनुगमन तथा निर्देशन दिइरहेका छ। कोशी प्रदेशका प्रहरी प्रमखु भने डीआईजी विनोद घिमिरे छन्।
कोशी प्रदेशकै सबैभन्दा चुनौतीपूर्ण मानिएको झापामा एसएसपी पनि खटाइएको छ। एसएसपी गोविन्द अधिकारीलाई झापामा खटाइएको हो। उनले झापा र इलामको कमाण्ड गर्नेछन्। झापाको जिल्ला प्रहरी प्रमुख भने एसपी बसुन्धरा खड्का छिन्।
त्यस्तै मधेश प्रदेशमा एआईजी डम्बर विकलाई पठाइएको छ। उनी प्रदेश समन्वय विभागमा कार्यरत थिए। मधेश प्रदेशका आठ जिल्लाको उनले अनुगमन, निर्देशन गर्ने छन्। मधेश प्रदेश प्रहरी कार्यालयको प्रमुख भने डीआईजी गोविन्द थपलिया छन्।
मधेश प्रदेशका सर्लाही, रौतहट जिल्लाको कमाण्ड गर्ने गरी एसएसपी सुरेश काफ्लेलाई पठाइएको छ।
बागमती प्रदेशको कमाण्ड गर्न राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका एआईजी सिद्धिविक्रम शाहलाई पठाइएको छ। बागमती प्रदेश प्रहरी कार्यालयको प्रमुख भने डीआईजी दीपक रेग्मी छन्।
हरेक पटकको चुनावमा झडप हुने दोलखामा एसपी नान्तिराज गुरुङलाई पठाइएको छ। दोलखाको प्रहरी प्रमुख भने डीएसपी हुन्छन्। काभ्रे र सिन्धुपाल्चोकका कमाण्ड गर्ने गरी विनोद सिलवाललाई पठाइएको छ।
गण्डकी प्रदेशमा भने केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत एआईजी डा. मनोज केसीलाई पठाइएको छ। गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख भने डीआईजी दीपेन्द्र जिसी छन्।
यो प्रदेशको कास्की र स्याङ्जा हेर्न गरी जनार्दन जिसीलाई खटाइएको छ।
त्यस्तै लुम्बिनी प्रदेशमा कार्य विभागका प्रमुख उमा प्रसाद चतुर्वेदीलाई खटाइएको छ। यो प्रदेशको प्रहरी प्रमुख भने भुपेन्द्र बहादुर खत्री छन्। रुपन्देही र कपिलवस्तु कमाण्ड गर्ने गरी ऋषिराम कँडेललाई खटाइएको छ।
कर्णाली प्रदेशमा अपराध अनुसन्धान विभागका एआईजी सुशील सिंह राठौरलाई खटाइएको छ। यो प्रदेशका प्रहरी प्रमुख भने जयराज सापकोटा हुन्।
त्यस्तै सुदूरपश्चिम प्रदेशको कमाण्ड गर्न प्रशासन विभागका प्रमुख हिमालय कुमार श्रेष्ठलाई पठाइएको छ। यो प्रदेशको प्रहरी प्रमुख भने ओम बहादुर राना हुन्।
त्यस्तै उपत्यकाका तीन जिल्लाको कमाण्ड गर्ने एआईजी ईश्वर कार्कीले गर्नेछन्। यी ती जिल्लाको निर्वाचन हेर्न भने काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले एसएसपी रमेश बस्नेतको कमाण्डलमा सेल खडा गरेको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अविनारायण काफ्लेका अनुसार निर्वाचन सुरक्षाको कमाण्ड हरेक जिल्लामा कम्तीमा पनि एसपीले गर्नेगरी व्यवस्था मिलाइएको छ। जसअनुसार डीएसपीले कमाण्ड गरेका पहाडी जिल्लाहरूमा एसपी खटाइएको उनले बताए।
त्यस्तै एसपीले कमाण्ड गर्दै आएका जिल्लाहरूमा चुनौतीको अवस्था हेरेर एसएसपी खटाइएको छ। यसरी खटिने एसपी र एसएसपीहरूलाई २ वटा जिल्लासम्मको कमाण्ड दिइएको छ।
‘बस्न एउटा जिल्लामा बसे पनि त्यहाँ कमाण्ड भने दुई जिल्लामा हुन्छ’ प्रवक्ता काफ्लेले भने।
उपत्यकाबाट पनि थप टोली आ–आफ्नो कार्यक्षेत्रमा पुगिसेकेको बताइएको छ। उपत्यकाबाट १२ हजार ७०० सय थप टोली खटिएका छन्। ब्यूरोहरू, ट्राफिक, अपराध अनुसन्धान कार्यालय जस्ता युनिटहरू पनि थप टोली खटिएका छन्। ट्राफिक प्रहरी निर्वाचनको सुरक्षाका लागि खटिँदा उपत्यकाको ट्राफिक अवस्था पनि अस्तव्यस्त बनेको छ।
निर्वाचन सुरक्षाका लागि बुधबार मात्रै प्रहरी प्रधान कार्यालय पूर्वआईजीपी, निर्वाचन आयुक्तहरूलाई बोलाएर प्रहरी प्रधान कार्यालयमा छलफल गरेको थियो। त्यहाँबाट प्राप्त सल्लाह सुझाव अनुसार पनि सुरक्षा रणनीति बनाएर काम हुने बताइएको छ।
शंकास्पद ठाउँहरूमा तालिमप्राप्त कुकुरहरूको गस्ती तथा ठग स्निफिङ हुने बताइएको छ। निर्वाचनको समयमा साइबर चुनौती व्यापक रहेको औंल्याउँदै त्यसका लागि तयारी पनि तिव्र पारिएको प्रवक्ता काफ्ले बताउँछन्।
त्यसको निगरानीमा प्रहरी प्रधान कार्यालयमा मनिटरिङ डेस्क नै बनाएर काम सुरु गरिएको बताइएको छ। सामाजिक सञ्जाल मनिटरिङ डेस्क, निर्वाचन आयोगलमा साइबर डेस्क, साइबर ब्यूरोहरूले यस्ता काम गरिरहेको बताइएको छ।
सीमा नाकामा कडा निगरानी गर्नेदेखि काउन्टर पार्टस्हरूसँग मिटिङ गरेर सीमा नाका बन्द गर्ने काम हुने बताइएको छ।
अहिले दैनिक जिल्ला सुरक्षा समितिको बैठक बसेर सुरक्षा विश्लेषण हुने गरेको छ। गृहमन्त्रालयमा पनि दैनिक केन्द्रीय सुरक्षा समितिको बैठक बसेर सुरक्षाको विश्लेषण गर्ने र सो अनुसार व्यवस्था मिलाउने काम भएको छ।