धान घट्यो, चामल आयात बढ्योः घरेलु उत्पादनभन्दा विदेशी तयारी चामलको बढ्दो निर्भरता - Chaitanya News
  • 2026-04-25
  • 22:44:38
  • शनिबार,बैशाख १२, २०८३
  • धान घट्यो, चामल आयात बढ्योः घरेलु उत्पादनभन्दा विदेशी तयारी चामलको बढ्दो निर्भरता

    धान घट्यो, चामल आयात बढ्योः घरेलु उत्पादनभन्दा विदेशी तयारी चामलको बढ्दो निर्भरता

    काठमाडौं – कृषिप्रधान देश नेपालमा स्वदेशी धान उत्पादन घट्दै गर्दा विदेशबाट तयारी चामलको आयात ह्वात्तै बढेको छ। चालु आर्थिक वर्ष २०७८–८३ को ७ महिनाको तथ्यांकले घरेलु धान उत्पादनभन्दा बाहिरबाट चामल भित्रिनेसँगै कृषि आत्मनिर्भरता चुनौतीमा परेको देखाउँछ।

    भन्सार विभागका अनुसार साउनदेखि माघसम्म नेपालले २५ अर्ब ४८ करोड ५८ लाख रुपैयाँ बराबरको धानचामल आयात गरेको छ। गत वर्षको सोही अवधिमा यो रकम २५ अर्ब ३७ करोड ५२ लाख थियो।

    आकर्षक तथ्य यो छ कि धान आयात घटेको छ भने चामल आयातमा उल्लेखनीय वृद्धि भएको छ। गत वर्ष ३ लाख ८१ हजार ६ सय २२ टन धान आयात भएकोमा यस वर्ष ३ लाख ४८ हजार १ सय ३७ टनमा झरेको छ। तर, तयारी चामलको माग बढ्दै गर्दा चामल आयात ९२ हजार ७ सय ५१ टनबाट बढेर १ लाख १३ हजार ७ सय ९३ टन पुगेको छ।

    बासमती चामलको आयात पनि गत वर्षको ४० हजार ४ सय ४९ टनबाट बढेर ४६ हजार १३ टन पुगेको छ। कनिका र धानको बिउको आयातमा पनि अस्वाभाविक वृद्धि देखिएको छ। कनिका आयात गत वर्ष ८८ टनबाट ६ हजार २ सय ६८ टन पुगेको छ भने धानको बिउ आयात १ सय ८० टनबाट २ सय ७२ टन पुगेको छ।

    धान र चामलको बढ्दो आयातले समग्र मूल्यमा वृद्धि भए पनि सरकारले पाउने भन्सार राजस्व घटेको छ। गत वर्ष ७ महिनामा आयातबाट २ अर्ब ३१ करोड संकलन भएको थियो, भने यस वर्ष राजस्व घटेर १ अर्ब ७७ करोडमा सीमित भएको छ। विशेषगरी धान आयात घट्दा र चामलमा भन्सार दर परिवर्तन भएपछि राजस्वमा कमी आएको हो।

    विदेशी तयारी चामलमा बढ्दो निर्भरता र धान आयात घट्नुले कृषिमा आत्मनिर्भर बन्ने लक्ष्यमा चुनौती थपेको छ। यसले देशको व्यापार घाटा बढाउने साथै स्थानीय किसान र अर्थतन्त्रमा दीर्घकालीन असर पार्ने सम्भावना बढाएको छ।