सार्वजनिक सेवा प्रभावकारितामा कमजोरी हुँदा नेपाली नागरिक विदेशिन बाध्य भइरहेका छन् : मन्त्री कुमार इङ्नाम - Chaitanya News
  • 2026-04-25
  • 22:45:15
  • शनिबार,बैशाख १२, २०८३
  • सार्वजनिक सेवा प्रभावकारितामा कमजोरी हुँदा नेपाली नागरिक विदेशिन बाध्य भइरहेका छन् : मन्त्री कुमार इङ्नाम

    सार्वजनिक सेवा प्रभावकारितामा कमजोरी हुँदा नेपाली नागरिक विदेशिन बाध्य भइरहेका छन् : मन्त्री कुमार इङ्नाम

    काठमाडौँ– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नाम ले सरकारी सेवा प्रणाली अपेक्षाअनुसार प्रभावकारी हुन नसक्दा नेपाली नागरिक विदेशिन बाध्य भइरहेको बताएका छन्।

    आज (आइतबार) काठमाडौँ महानगरपालिका ले आयोजना गरेको कार्यक्रममा उनले राज्यका सेवा प्रदायक निकायप्रतिको विश्वास कमजोर बन्दै जाँदा अवसरको खोजीमा युवाशक्ति बाहिरिने क्रम बढेको उल्लेख गरे।

    उनका अनुसार भूमि प्रशासन, मालपोत तथा नापी कार्यालयहरू आम नागरिकको प्रत्यक्ष सरोकारसँग सम्बन्धित संवेदनशील क्षेत्र हुन्। ती कार्यालयहरूमा पारदर्शिता, सुशासन र जवाफदेहिताको अभाव देखिँदा सेवाग्राही निराश हुने अवस्था सिर्जना भएको उनले औँल्याए। अनियमित लेनदेन जस्ता प्रवृत्तिले सार्वजनिक प्रशासनप्रति नकारात्मक धारणा विकास गरिरहेको उनको भनाइ थियो।

    मन्त्री इङ्नामले सम्बन्धित निकायहरूमा संस्थागत सुधार र सुशासन सुनिश्चित गर्न आवश्यक रहेको बताए। सुधार प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके सकारात्मक सन्देश जाने र राजस्व संकलनमा उल्लेखनीय वृद्धि सम्भव हुने उनले धारणा व्यक्त गरे।

    उनले मन्त्रालयले हालै जारी गरेको परिपत्रको प्रभावबारे उल्लेख गर्दै त्यसबाट करिब ५० अर्ब रुपैयाँसम्म राजस्वमा फरक पर्ने अनुमान गरिएको जानकारी दिए।