प्रतिनिधि सभा निर्वाचनका लागी भारतले पठाएका ५३८ वटा गाडी कहाँ–कहाँ वितरण गरियो ? - Chaitanya News
  • 2026-04-26
  • 00:24:00
  • शनिबार,बैशाख १२, २०८३
  • प्रतिनिधि सभा निर्वाचनका लागी भारतले पठाएका ५३८ वटा गाडी कहाँ–कहाँ वितरण गरियो ?

    प्रतिनिधि सभा निर्वाचनका लागी भारतले पठाएका ५३८ वटा गाडी कहाँ–कहाँ वितरण गरियो ?

    काठमाडौँ– यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागी भारत सरकारले ५३८ वटा गाडी नेपाल सरकारलाई सहयोग स्वरूप हस्तान्तरण गरेको छ। गृह मन्त्रालयका अधिकृतहरूका अनुसार, हालसम्म ५३८ वटा गाडी नेपाल आइपुगेका छन् ।

    भारतले अनुदान सहयोगमा प्रदान गरेका गाडीहरू निर्वाचनमा प्रयोग गरिँदै छ। भारत सरकारले प्रदान गरेको गाडीहरू सुरक्षा निकाय, निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालयहरूलाई दिइएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) आनन्द काफ्लेले बताए।

    भारतबाट बोलेरो जिप, स्कोर्पियो र स्कोर्पियो पिकअप आएको छ। तीमध्ये सरकारले निर्वाचन आयोगलाई ८७ वटा गाडी निर्वाचन प्रयोजनको लागि दिएको छ।

    सुरक्षा निकायलाई २९८ वटा गाडी प्रदान गरिएको छ। नेपाल प्रहरीका प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेका अनुसार भारतबाट आएको १९५ वटा गाडी गृह मन्त्रालयले प्रहरी प्रदान कार्यालयलाई उपलब्ध गराएको छ। ती गाडीहरू काठमाडौँ उपत्यका र उपत्यका बाहिरका युनिटमा पठाइने डीआईजी काफ्लेले बताए।

    सशस्त्र प्रहरी बललाई ९३ वटा र राष्ट्रिय अनुसन्धान विभागलाई १० वटा गाडी प्रदान गरिएको छ। गृह मन्त्रालयले ईलाका प्रशासन कार्यालय, कारागार कार्यालयहरू र जिल्ला प्रशासन कार्यालयलाई गाडी उपलब्ध गराएको छ।

    गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा गाडी आगजनी भएका जिल्ला प्रशासनहरूलाई धेरै सङ्ख्यामा गाडी दिइएको छ । प्रदर्शनको असर नपरेको प्रशासन कार्यालयलाई पनि गाडी दिइएको छ।

    निर्वाचनमा प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागले ३७७ वटा गाडी खरिद प्रक्रिया अघि बढाएका छन्। प्रहरीले खरिद गरेको १० वटा इलेक्ट्रिक गाडी आइपुगेको छ।

    अरू ७५ वटा गाडी पनि निर्वाचन अघि नै आइपुग्ने डीआईजी काफ्लेले बताए। थप १ सय वटा गाडी खरिद गर्न प्रहरीले टेण्डर प्रक्रिया अघि बढाएको छ।