धनकुटा– धनकुटामा फागुन २१ गते हुने निर्वाचनका लागि २ वटा अस्थायी मतदान केन्द्र तोकिएको छ।
निर्वाचन आयोगको निर्देशन अनुसार कैदीबन्दी, निर्वाचनमा नखटिएका कर्मचारी र सुरक्षाकर्मीका लागि यी केन्द्रहरु निर्धारण गरिएको हो।
जिल्ला निर्वाचन कार्यालय धनकुटाका अनुसार जिल्ला कारागार र गोकुण्डेश्वर मावि धनकुटा–६ सिरानबजारमा अस्थायी मतदान केन्द्र तोकिएको हो।
कारागारमा कैदीबन्दीका लागि मतदानको अधिकार दिन मतदान केन्द्र राखिने भएको छ भने गोकृण्डेश्वर मतदान केन्द्रबाट कर्मचारी र सुरक्षाकर्मीले मत दिने कार्यालयका प्रमुख माधव अधिकारीले जानकारी दिए।
धनकुटा जिल्लामा २ हजार ३०८ जना अस्थायी मतदाताको तथ्याङ्क सार्वजनिक भएको छ। जसमा ७६ जना कैदीबन्दी र २ हजार २ सय ३२ जना कर्मचारी र सुरक्षाकर्मीहरु अस्थायी मतदाता रहेका छन्।
उनीहरुको अस्थायी मतदाता नामावलीमा नाम स्वीकृत भइसकेको अधिकारीले जानकारी दिए। ‘निर्वाचनमा जिल्ला कारागारमा रहेका कैदीबन्दीहरूको उपस्थिति शत प्रतिशत हुने देखिन्छ,’ उनले भने, ‘तर गोकुण्डेश्वर माविमा रहने केन्द्रमा भने थोरै मात्र उपस्थिति हुने छन्। किनभने निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मी सहित गरेर २ हजार २ सय ३२ जनाको नामावली रहेको छ।’
निर्वाचनमा खटिने कर्मचारीले सम्बन्धित मतदान केन्द्रमै भोट हाल्ने सुविधा दिइएको छ। अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिक तर्फ मात्र मत हाल्न पाउने व्यवस्था रहेको छ। अस्थायी मतदातालाई प्रत्यक्ष तर्फका उम्मेदवारलाई भोट हाल्ने सुविधा नरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।