काठमाडौं– सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यलय अत्तरियाले आर्थिक वर्ष २०८१–०८२ को माघ महिनामा सम्पन्न भएका ट्राफिक व्यवस्थापन, सवारी दुर्घटना, राजस्व संकलन तथा जनचेतनामूलक कार्यक्रमसम्बन्धी प्रगति विवरण सार्वजनिक गरेको छ। कार्यालयले सार्वजनिक गरेको विज्ञप्तिअनुसार सुदूरपश्चिम प्रदेशका विभिन्न राजमार्ग तथा सहायक सडकहरूमा ट्राफिक सुरक्षालाई सुदृढ बनाउन निरन्तर कार्य भइरहेको जनाएको छ।
कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार माघ महिनाभर सुदूरपश्चिम प्रदेशमा जम्मा १२८ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा २८ जनाले ज्यान गुमाएका छन् भने १३६ जना गम्भीर घाइते भएका छन्। साथै ८२ जना सामान्य घाइते भएको विवरण सार्वजनिक गरिएको छ। दुर्घटनाको संख्या र त्यसबाट भएको मानवीय क्षतिले ट्राफिक सुरक्षामा अझ बढी ध्यान दिनुपर्ने आवश्यकता औंल्याएको छ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक (डीएसपी)टेक जोराले ट्राफिक व्यवस्थापनको प्रगति र चुनौतीबारे जानकारी दिँदै भने, हामीले दुर्घटना न्यूनीकरणका लागि केवल कारबाही मात्र होइन, जनचेतना अभिवृद्धिमा पनि ठूलो जोड दिएका छौं। सडक प्रयोगकर्ताहरूलाई सुरक्षित सवारी, हेल्मेट र सिटबेल्टको प्रयोगमा सचेत बनाउन निरन्तर अभियान सञ्चालन गर्दैछौं। ब्ल्याक स्पट चिन्हित गरेर सुधार गर्नाले दुर्घटना कम गर्न सहयोग पुगेको छ। हाम्रो लक्ष्य केवल कारबाही नभई दीर्घकालीन सडक सुरक्षा सुनिश्चित गर्नु हो।
जोराले स्थानीय समुदाय, चालक, यात्री र प्रहरीबीच सहकार्य भएमा मात्र सडक सुरक्षा प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्। ुसडक सुरक्षा एक आपसी जिम्मेवारी हो, जसमा सबैको सक्रिय सहभागिता आवश्यक छ, उनले भने।
दुर्घटनाको प्रमुख कारण:
प्रहरी स्रोतका अनुसार अधिकांश दुर्घटना चालकको लापरवाही, तीव्र गति, ओभरटेक, मादक पदार्थ सेवन गरी सवारी चलाउने, सडकको अवस्था र सवारी साधनको प्राविधिक समस्या जस्ता कारणले हुने गरेको छ। विशेष गरी राजमार्ग क्षेत्रमा लामो दूरीका सवारी साधनले गति नियन्त्रण नगर्दा दुर्घटना बढ्ने गरेको छ।
सवारी कारबाही र राजस्व संकलन:
माघ महिनामा ट्राफिक प्रहरीले व्यापक चेकजाँच अभियान सञ्चालन गरेको जनाएको छ। सो अवधिमा २,७३४ वटा सवारी साधनलाई विभिन्न ट्राफिक नियम उल्लङ्घनका आधारमा कारबाही गरिएको छ। ती कारबाहीबाट २२ लाख ७७ हजार ४०० रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ।
त्यसैगरी मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने २३९ जनालाई कारबाही गरिएको छ। मापसे कारबाहीबाट मात्रै १ लाख २८ हजार रुपैयाँ राजस्व उठाइएको छ। जोराका अनुसार, मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई कारबाही गर्ने हाम्रो प्रक्रिया कडाइका साथ जारी रहनेछ। हाम्रो अभियानले दुर्घटना रोक्न प्रत्यक्ष सहयोग पुर्याइरहेको छ।
ट्राफिक दुर्घटना न्यूनीकरण गर्न जनचेतना अभिवृद्धि महत्वपूर्ण मान्दै विभिन्न कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ। माघ महिनामा विद्यार्थी, चालक तथा सर्वसाधारण सडक प्रयोगकर्तालाई लक्षित गरी ६०१ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो। ती कार्यक्रममार्फत २७ हजार ३२६ जना लाभान्वित भएको विवरण सार्वजनिक गरिएको छ।
ब्ल्याक स्पट पहिचान:
दुर्घटना बढी हुने स्थानलाई ‘ब्ल्याक स्पट’ को रूपमा पहिचान गरी सुधारका प्रयास गरिएको कार्यालयले जनाएको छ। हालसम्म ४९ वटा दुर्घटना बढी हुने स्थान पहिचान गरिएको छ। ती स्थानमा सचेतना बोर्ड राख्ने, गति सीमा संकेत गर्ने, सडक चिन्हहरू सुधार गर्ने लगायतका कार्यहरू गरिएको जानकारी दिइएको छ।
प्रहरी उपरीक्षक जोराले ब्ल्याक स्पटबारे भने, सुरक्षित सडक बनाउने हाम्रो रणनीतिमा ब्ल्याक स्पट चिन्हित गर्नु महत्वपूर्ण छ। यी स्थानमा उचित सुधार गर्दा दुर्घटना कम हुनेछ।
ट्राफिक व्यवस्थापनमा चुनौती:
सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका सडकहरूको भौगोलिक अवस्था, मौसमीय प्रभाव, पुराना सवारी साधनको प्रयोग, र चालकहरूमा ट्राफिक नियमप्रति बेवास्ता जस्ता कारणले ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको अधिकारीहरूको भनाइ छ। विशेष गरी चाडपर्व तथा पर्यटक मौसममा सवारी चाप बढ्दा दुर्घटनाको जोखिम समेत बढ्ने गरेको छ।
ट्राफिक प्रहरीले आगामी दिनमा दुर्घटना न्यूनीकरणलाई प्राथमिक लक्ष्य बनाउँदै थप निगरानी बढाउने, आधुनिक प्रविधिको प्रयोग गर्ने, चालक प्रशिक्षणलाई प्रभावकारी बनाउने, र जनचेतना कार्यक्रमलाई अझ विस्तार गर्ने योजना बनाएको जनाएको छ। जोराले भने, हामी आधुनिक प्रविधि र जनचेतनालाई जोड दिँदै सडक सुरक्षा अभियानलाई अझ प्रभावकारी बनाउने लक्ष्यमा छौं। प्रहरी, समुदाय र स्थानीय निकायबीच सहकार्य भएमा मात्र परिणाम साकारात्मक हुनेछ।
![]()
![]()