काठमाडौं– फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ।
वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन्। शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वर्णित छ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा लिइन्छ। माघ महीनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झार उनै महादेवको शिवत्व ९जगत्को कल्याण गर्ने तत्व०ले गर्दा पलाउन थाल्ने हुनाले फागुनमा शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ।
व्रतमध्ये सर्वोत्तम महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजार्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन्। यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसेम सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ। आजको दिन महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगामा प्रसाद बनाई ग्रहण गरिन्छ।
राष्ट्रिय सांस्कृतिक पर्व यस दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लक्ष्य विल्लपत्र अर्पण गरिन्छ। कैलाशकूट र किराँतेश्वर सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ। महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ।
पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
पूजा विधि
शिवरात्रिको पूजा रात्रिको चारै प्रहरमा गर्नुपर्दछ। शिवलाई बेल पत्र, धतुरोको फूल, भाङको प्रसाद अर्पण गर्नुपर्दछ। यि वस्तु शिवका अति प्रिय छन्।
यसका साथै पुजामा दूध, दही, घिउ, सख्खर, मह यि पाँच अमृत समान वस्तु अर्थात यिनको मिश्रण पञ्चामृत पूजन कार्यमा उपयोग गर्नुपर्दछ। पञ्चामृतले स्नान गराएपछि इत्र चढाई जनै पहियाउनु पर्दछ।
र अन्त्यमा भाङको प्रसाद चढाउनु पर्दछ। व्रत गर्न नसक्नेहरुले पनि आज संभव भए अनुसार शिवको पुजन वा आरधना गर्नु पर्दछ।
शिव प्रार्थना मन्त्र
नम: शम्भवाय च मयोभवाय च नम: शन्कराय च मयस्कराय च नम: शिवाय च शिवतराय च ।।
ईशान: सर्वविद्यानामीश्वर: सर्वभूतानां ब्रह्माधिपतिर्ब्रह्मणोऽधिपतिर्ब्रह्मा शिवोमा अस्तु सदाशिवोम ।।