निर्वाचन प्राथमिकताले पुँजीगत खर्च अपेक्षाअनुसार बढ्न सकेको छैन : अर्थमन्त्री खनाल - Chaitanya News
  • 2026-02-11
  • 04:16:10
  • मंगलबार,माघ २७, २०८२
  • निर्वाचन प्राथमिकताले पुँजीगत खर्च अपेक्षाअनुसार बढ्न सकेको छैन : अर्थमन्त्री खनाल

    निर्वाचन प्राथमिकताले पुँजीगत खर्च अपेक्षाअनुसार बढ्न सकेको छैन : अर्थमन्त्री खनाल

    काठमाडौँ– अर्थमन्त्री रामेश्वर खनालले चालु आर्थिक वर्षमा पुँजीगत खर्च विस्तारमा अपेक्षित ध्यान दिन नसकिएको बताएका छन्। आज (मंगलबार) आयोजित चालु बजेटको अर्धवार्षिक समीक्षा कार्यक्रममा उनले यस अवधिमा सरकारको मुख्य ध्यान निर्वाचन व्यवस्थापनमा केन्द्रित रहनु परेकाले विकाससम्बन्धी खर्च प्रभावित भएको बताएका हुन्।

    उनका अनुसार निर्वाचनसम्बन्धी वातावरण निर्माणका लागि व्यापक संवाद र समन्वय आवश्यक परेकाले आफू तथा अन्य विकाससँग सम्बन्धित मन्त्रालयका मन्त्रीहरूको प्राथमिकता सोही प्रक्रियातर्फ केन्द्रित भयो। यस कारण निर्माण र विकासका कार्यक्रमहरूमा पर्याप्त ध्यान पुग्न नसकेको उनले स्वीकार गरे।

    अर्थमन्त्री खनालले चालु आर्थिक वर्ष २०८२–८३ मा पुँजीगत बजेट खर्च सन्तोषजनक नरहेको उल्लेख गर्दै वित्तीय दबाबको अवस्थाबारे पनि जानकारी गराए। उनका अनुसार हाल संघीय सञ्चित कोष करिब १ खर्ब ३० अर्ब रुपैयाँ घाटामा रहेको छ।

    उनले आगामी अवधिमा वित्तीय सन्तुलन कायम गर्दै विकास खर्चलाई प्रभावकारी बनाउनेतर्फ सरकारको ध्यान रहने संकेतसमेत दिएका छन्।