प्रतिनिधि सभा निर्वाचन: मतदानस्थालको निरीक्षणसँगै सुरक्षाको व्यवस्थालाई बलियो बनाइँदै - Chaitanya News
  • 2026-02-11
  • 04:17:15
  • मंगलबार,माघ २७, २०८२
  • प्रतिनिधि सभा निर्वाचन: मतदानस्थालको निरीक्षणसँगै सुरक्षाको व्यवस्थालाई बलियो बनाइँदै

    प्रतिनिधि सभा निर्वाचन: मतदानस्थालको निरीक्षणसँगै सुरक्षाको व्यवस्थालाई बलियो बनाइँदै

    चितवन– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई ख्याल गर्दै सशस्त्र प्रहरी बल नेपालले जिल्लाका तीन निर्वाचन क्षेत्रमा निर्वाचन सुरक्षा ‘बेस’ स्थापना गरी सुरक्षा दिन सुरुआत गरेको छ। तीन निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय लक्षित गर्दै सुरक्षा बेस स्थापना गरिएको हो।

    प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार निर्वाचन प्रयोजनका लागि बेस स्थापना गरिएको हो । उनले भने निर्वाचनको समयमा हुनसक्ने घटनालाई मध्यनजर गर्दै बेस स्थापना गरिएको हो।” सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सशस्त्र प्रहरी परिचालन गरिएको छ। क्षेत्र नं १ को खैरहनीमा, क्षेत्र नं २ को भरतपुर–१० मा र क्षेत्र नं ३ को रामपुरमा बेस स्थापना गरिएको उनले जानकारी दिए।

    निर्वाचनको प्रयोजन सकिएसँगै बेसहरू हट्ने छन्। यससँगै जिल्लाको दुई स्थानमा नेपाली सेनाले सुरक्षा दिन थालनी गरेको छ। भरतपुर विमानस्थल र कारागार कार्यालयमा सेनाले सुरक्षा दिन थालेको उनले बताए । जिल्लाको सुरक्षालाई मध्यनजर गर्दै अहिले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको संयुक्त गस्तीसमेत सुरु गरिएको उनको भनाइ छ। उनले भने “अहिले हामीले मतदानस्थालको निरीक्षणसँगै सुरक्षाको व्यवस्थालाई बलियो वनाउँदै लगेका छौँ।