‘देशको समग्र परिवर्तनका लागि युवा पुस्ताको नेतृत्व अनिवार्य छ’ : रवि लामिछाने - Chaitanya News
  • 2026-04-27
  • 18:09:49
  • सोमबार,बैशाख १४, २०८३
  • ‘देशको समग्र परिवर्तनका लागि युवा पुस्ताको नेतृत्व अनिवार्य छ’ : रवि लामिछाने

    ‘देशको समग्र परिवर्तनका लागि युवा पुस्ताको नेतृत्व अनिवार्य छ’ : रवि लामिछाने

    काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको समग्र परिवर्तनका लागि युवा पुस्ताको नेतृत्व अनिवार्य रहेको बताएका छन् । आज (सोमबार) रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत खैरेनीमा आयोजित चुनावी कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । यस्तै, उनले वर्तमान निर्वाचनलाई नियमित राजनीतिक अभ्यासभन्दा फरक, दीर्घकालीन प्रभाव पार्ने अवसरका रूपमा उल्लेख गरे।

    उनका अनुसार जनताको भूमिकालाई कमजोर ठान्ने प्रवृत्तिले विगतमा अपेक्षित परिणाम दिन सकेन। लामिछानेले अघिल्ला सत्तासीन नेतृत्वहरू जनचाहनाभन्दा व्यक्तिगत वा शक्ति केन्द्रित राजनीतिमा सीमित रहेको आरोप लगाउँदै अब नागरिकले त्यस प्रकारको व्यवहार स्वीकार नगर्ने संकेत गरे।

    पार्टीभित्रको संगठनात्मक अवस्थाबारे बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी पद, हैसियत वा भागबण्डाभन्दा बाहिर रहेर नयाँ पुस्ताको सामूहिक प्रयासमा आधारित रहेको बताए। उनले यसलाई परम्परागत दलगत अभ्यासभन्दा फरक राजनीतिक संस्कारको उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।

    लामिछानेले आगामी कार्यकालमा राजनीतिक स्थायित्व सुनिश्चित गर्ने लक्ष्यसहित स्थिर सरकार गठनलाई प्राथमिक एजेन्डा बनाइएको जानकारी दिए। उनका अनुसार निरन्तर नेतृत्व र स्पष्ट कार्यदिशा बिना विकास र सुशासन सम्भव नहुने भएकाले दीर्घकालीन स्थिरता आवश्यक छ।

    उनले यसअघि निर्वाचित जनप्रतिनिधिहरूले जनअपेक्षा अनुसार काम गर्न सके–नसकेको विषय अहिले सार्वजनिक रूपमा मूल्यांकन भइरहेको उल्लेख गरे। सोही सन्दर्भमा मतदातालाई नयाँ पुस्ताका उम्मेदवारलाई विश्वास गर्न आग्रह गर्दै जनमत निरर्थक नहुने विश्वास दिलाए।