सुर्खेत– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले इलाका प्रहरी कार्यालय राकम कर्णाली, दैलेखको अधुरो भवन निर्माणका लागि विनियोजित ६० लाख रुपैयाँ कार्यान्वयन गर्न अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ।
कर्णाली प्रदेश सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहका अनुसार उक्त रकम इलाका प्रहरी कार्यालय राकम कर्णाली, दैलेखलाई उपलब्ध गराइनेछ।
त्यसै गरी, बैठकले कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय पनि गरेको छ। साथै, कर्णाली प्रदेश वन (दोस्रो संशोधन)नियमावली, २०८२ लाई स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरिएको मन्त्री शाहले जानकारी दिए।