काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले पाठेघरको मुखको क्यान्सर सुरुको अवस्थामा पहिचान गर्न सके उपचार गरेर निको हुने बताएकी छन्।
आज (आ्रइतबार)देखि सुरु भएको पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियानको भिडियो सन्देशमार्फत सफलताको शुभकामना दिँदै उनले खोप सुरक्षित रहेकाले निर्धक्कसँग लगाउन सबैलाई अनुरोध गरिन्। उनले ३० वर्ष भन्दामाथि सबै महिलाले नियमित रूपमा पाठेघरको मुखको क्यान्सरको परीक्षण गराउनसमेत अनुरोध गरिन्।
“पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपिभी भाइरसको सङ्क्रमण हो । उक्त भाइरसविरुद्धको खोपबाट यो रोग रोकथाम गर्न सकिन्छ”, मन्त्री डा. गौतमले भनिन्। पाठेघरको मुखको क्यान्सरलाई नेपालमा निवारण गर्ने उद्देश्यले गत वर्षदेखि एचपिभी खोपलाई नियमित अभियानअन्तर्गत सञ्चालन गर्दै आइएको उनले बताइृन्।
सरकारले आजदेखि आगामी फागुन १५ सम्म देशव्यापी रूपमा पाठेघरको मुखको क्यान्सरविरुद्ध कक्षा ६ मा पढ्ने किशोरी र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई एचपिभी खोप लगाउन थालेको छ। यस्तै गत वर्षको खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म पढ्ने किशोरी र ११ वर्षदेखि १४ वर्षका विद्यालय बाहिरका किशोरी पनि खोप लगाइने छ।