अभौतिक सांस्कृतिक सम्पदा सम्बन्धी विधेयकको नाम परिवर्तन गर्न समय माग - Chaitanya News
  • 2026-04-26
  • 12:28:20
  • आइतबार,बैशाख १३, २०८३
  • अभौतिक सांस्कृतिक सम्पदा सम्बन्धी विधेयकको नाम परिवर्तन गर्न समय माग

    अभौतिक सांस्कृतिक सम्पदा सम्बन्धी विधेयकको नाम परिवर्तन गर्न समय माग

    काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ को नाम परिवर्तन गर्न विधायन व्यवस्थापन समितिसँग समय माग गरेको छ।

    आज (बिहीबार) सिंहदरवारमा बसेको समितिको बैठकमा विधेयकको नाममा सहमति जुट्न नसक्दा मन्त्रालयले समय मागेको हो। सांसदहरूले विधेयकको शीर्षकमा ‘अभौतिक’ को ठाउँमा अमूर्त लेख्नुपर्ने माग राखेका छन्।

    नेपाली भाषा, संस्कृतिको महत्त्व अतुलनीय रहेकाले कानूनमा स्थापित गरिने शब्दमा समेत कला र संस्कृतिको मर्म झल्किने गरी नाम राख्नुपर्ने सांसदहरूको धारणा छ।

    बैठकमा बोल्दै नेपाली कम्युनिस्ट पार्टीकी सांसद मदनकुमारी साहले अभौतिकको ठाउँमा अमूर्त सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी विधेयक राख्दा उपयुक्त हुने धारणा राखिन्।

    बैठकमा समिति सभापति तुलसाकुमारी दाहालले नामको बारेमा निर्णय गर्न सरकारले समय माग गरेको भन्दै दफावार छलफल अगाडि बढाइन्।

    बैठकमा बोल्ने अधिकांश सांसदहरूले स्थानीय तहमा सांस्कृतिक सम्पदाको सूचीकरण गर्न लगाउने भनिएर मात्रै नपुग्ने बताउँदै त्यसलाई प्रभावकारी कार्यान्वयन गराउन बजेटको व्यवस्था हुनुपर्ने धारणा राखिन्।