आज नेप्से दोहोरो अंकले बढ्यो, कतिमा हुँदैछ कारोबार ? - Chaitanya News
  • 2026-04-26
  • 13:08:17
  • आइतबार,बैशाख १३, २०८३
  • आज नेप्से दोहोरो अंकले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    आज नेप्से दोहोरो अंकले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं– साताको अन्तिम दिन आज (बिहिवार) नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सूचकमा दोहोरो अंकले बढेको छ। यो साता बुधबारसम्म करिब ३२ अंक घटेको नेप्से सूचक बिहीबार भने २७ अंक बढेको हो।

    यो साता सुरुदेखि अस्थिर नेप्से सूचक बिहीबार बढेको हो। यो दिन नेप्से सूचक मात्रै होइन, कारोबार रकममा पनि सुधार आएको छ।

    बिहीबार कारोबार सुरु भएदेखि निरन्तर बढेको नेप्से सूचक बन्द हुँदासम्म कायम रह्यो। कारोबार सुरु हुँदा २६८१.५ अंकमा रहेको नेप्से सूचक २७.१९ अंक बढेर २७०८.७० बिन्दु पुगेको छ। नेप्सेसँगै सेन्सिटिभ इन्डेक्स पनि ४.४७ अंक बढेको छ।

    बिहीबार नेप्सेमा कारोबार भएका सेयरमध्ये ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सकारात्मक सर्किट लाग्नेमा कालिञ्चोक दर्शन, सुपर मादी हाइड्रो र मोदी इनर्जी छन्। त्यसैगरी नेप्सेमा कारोबार भएका २ सय १ कम्पनीको सेयर मूल्य बढेको छ। बिहीबार ५५ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।

    बिहीबार नेप्सेमा कारोबार भएका अधिकांश समूहगत सूचक पनि बढेका छन्। यस दिन बैंकिङ ७.७१, विकास बैंक ५३.७८, वित्त १२.१६, होटल १७.०७, जलविद्युत् ५८.५०, लगानी १.२८, जीवन बीमा १४३.८५, उत्पादनमूलक ६९.२१, लघुवित्त २९.५५, सामूहिक लगानी कोष ०.१२, निर्जीवन बीमा २१८.९२ र अन्य समूह ४६.२९ अंक बढेका छन्। तर, बिहीबार नेप्सेमा कारोबार भएको व्यापार समूहमा भने १८.५१ अंकले गिरावट आएको छ।

    बिहीबार नेप्सेको कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ। नेप्सेमा ३ सय २६ कम्पनीको १ लाख ८ हजार ८ सय १७ कारोबारबाट ११ अर्ब ५८ करोड बराबरको ३ करोड ५५ लाख ७४ हजार ६ सय २७ कित्ता सेयर खरिद–बिक्री भएको नेप्सेले जनाएको छ। यो कारोबार रकम बुधबारको तुलनामा धेरै हो।

    बुधबार नेप्सेमा ३ सय २६ कम्पनीको ८० हजार ४ सय २२ कारोबारबाट ७ अर्ब ४९ करोड रुपैयाँ बराबरको १ करोड ६६ लाख ८२ हजार कित्ता सेयर किनबेच भएको थियो।