जेनजी आन्दोलनमा सहिद भएका परिवारलाई मासिक २१ हजार ८०० रुपैयाँ पेन्सन - Chaitanya News
  • 2026-04-26
  • 14:09:53
  • आइतबार,बैशाख १३, २०८३
  • जेनजी आन्दोलनमा सहिद भएका परिवारलाई मासिक २१ हजार ८०० रुपैयाँ पेन्सन

    जेनजी आन्दोलनमा सहिद भएका परिवारलाई मासिक २१ हजार ८०० रुपैयाँ पेन्सन

    काठमाडौँ– जेनजी आन्दोलनमा भएका सहिद परिवारले मासिक २१ हजार ८०० रुपैयाँ पेन्सन पाउने भएका छन् । सहरी विकास मन्त्रालयले ४२ जेनजी सहिद परिवारका लागि मासिक २१ हजार ८०० को दरमा पेन्सन निकासा गरेको छ। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिको परिवारलाई उक्त रकम प्रदान गरिएको हो।

    आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएको थियो। त्यस क्रममा जेलबाट भागेका बाहेकका व्यक्तिलाई सहिद घोषणाको निर्णय गरिएको थियो। त्यसरी सहिद हुनेमा तीन जना प्रहरी समेत थिए।

    अहिले प्रहरी बाहेक ४२ जनालाई सहरी विकास मन्त्रालयमार्फत मासिक पेन्सन रकम निकासा गरिएको हो। मन्त्रालयका प्रवक्ता नारायण रेग्मीका अनुसार १० वर्षका लागि आवश्यक रकम पुनर्निर्माण कोषबाट निकासा गरिएको छ।

    ‘उहाँहरूलाई मासिक २१ हजार ८०० र वर्षमा १३ महिनाका दरले १० वर्षको ११ करोड ९० लाख २८ हजार रुपैयाँ लाग्छ। यो रकम रकम पुनर्निर्माण कोषबाट निकासा गरिएको छ,’ रेग्मीले भने।

    उक्त रकम निकासाका लागि अर्थ मन्त्रालयसँग छलफल गरिएको थियो। तर, अहिले मन्त्रालयको स्वीकृति बिना नै मन्त्रालयले पुनर्निर्माण कोषबाट रकम निकासा दिएको हो।
    अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले राहतका लागि कुनै पनि फाइल अर्थ मन्त्रालयले स्वीकृत नगरेको बताए।