काठमाडौँ– नेकपा एमालेका नेता तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर–५ का उम्मेदवार ईश्वर पोखरेलले एमालेलाई सिध्याउन अनेकन षड्यन्त्र भइरहेको बताएका छन् छन्।
आज (बुधबार) प्रेस चौतारी नेपालले काठमाडौँका १५ जना उम्मेदवारहरूसँगको संवादमा बोल्दै नेता पोखरेलले एमालेविरुद्ध देशभित्र र बाहिरबाट पनि षड्यन्त्र भइरहेको बताएका हुन्।
‘बाहिरी षड्यन्त्र चिर्नको लागि भित्री रूपमा मजबूत हुनुपर्छ। भित्री रूपमा कमजोर भइयो भने बाह्य षड्यन्त्र हावी हुन्छ’, पोखरेलले भने, ‘हामी आन्तरिक रूपमा सुदृढ हुन चाहन्छौँ।’
नेता पोखरेलले राष्ट्रिय हित, राष्ट्रिय स्वतन्त्रता र स्वाधीनताको सवाल उठाएर पार्टीले घोषणापत्र बनाउने भन्दै सामाजिक सदभाव राष्ट्रिय एकताको आधार भएकाले त्यो भत्काउने कुरामा एमाले सहमत हुन नसक्ने बताए। नेता पोखरेलले एमाले अरूमाथि कटाक्ष गर्ने नभई आफ्ना कार्ययोजनामा केन्द्रीत भएर काम गर्ने पार्टी भएको दाबी समेत गरे।
उनले जेनजीले उठाएका माग अनुचित नभएको भन्दै जेनजी आन्दोलन हाइज्याक भइसकेपछि स्थिति षड्यन्त्रतर्फ धकेलिएकाले त्यसपछि के के भयो भन्ने कुरा प्रस्ट भएको बताए।
आन्दोलनलाई सोलोढोलो बुझ्न नहुने भन्दै २ दिने आन्दोलनलाई फरक फरक ढङ्गले बुझ्नुपर्ने पोखरेलको भनाई छ। उनले उपत्यकामा एमालेले आगामी निर्वाचनमा राम्रो परिणाम ल्याउने दाबी समेत गरे।