जनकपुरधाम– आन्तरिक राजस्व कार्यालय जनकपुरले चालु आर्थिक वर्ष २०८२–८३ को पुस महिना तथ्यांक सार्वजनिक गरेको छ । सार्वजनिक तथ्यांक अनुसार, कार्यालय तोकिएको लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ।
कार्यालयको तथ्यांक अनुसार पुस महिनाका लागि ६२ करोड ९७ लाख राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा ७३ करोड ३१ लाख संकलन भएको हो। जुन लक्ष्यको ११७ प्रतिशत रहेको राजश्व कार्यालयका प्रमुख कर अधिकृत आनन्दकुमार गुप्ताले जानकारी दिए।
उनका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म जम्मा २ अर्ब ६१ करोड २५ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा हालसम्म २ अर्ब ३३ करोड ३७ लाख रुपैयाँ अर्थात करिब ९० प्रतिशत राजस्व संकलन भएको हो ।
गत आर्थिक वर्ष २०८१–०८२ को पुस मसान्तसम्म २ अर्ब १३ करोड २६ लाख रुपैयाँ राजस्व संकलन भएकोमा यस वर्ष २२ करोड रुपैयाँले वृद्धि भएको हो।
गत वर्षको तुलनामा यस आर्थिक वर्षमा कार्यालयको कार्यक्षेत्र धनुषा जिल्ला र महोतरीका केही पालिकामा मात्र सीमित रहे पनि राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको उनले बताए।
गत आर्थिक वर्षमा कार्यालयको कार्यक्षेत्र धनुषा, महोतरी, सर्लाही र सिन्धुलीसम्म थियो। तर, चालु आर्थिक वर्षको साउनदेखि करदाता सेवा कार्यालय बर्दिबास आन्तरिक राजस्व कार्यालयमा स्तरोन्नति भएपछि कार्यक्षेत्र घटाइएको हो।
प्रमुख कर अधिकृत गुप्ताका अनुसार आर्थिक ऐन २०८२ ले व्यवस्था गरेका छुट तथा सुविधाको व्यापक प्रचार–प्रसार, करदातासँग नियमित सम्पर्क, बक्यौता रकम असुलीमा कडाइ, बजार अनुगमन, करको दायरा विस्तार र कर शिक्षा कार्यक्रमले राजस्व संकलनमा सकारात्मक प्रभाव पारेको छ।
जेनजी आन्दोलनपछि आर्थिक गतिविधि बढेसँगै राजस्व संकलनमा समेत वृद्धि भएको उनले बताए।